काठमाडौँ, १७ साउन । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सुन्दर सहर बनाउने कामको थालनी महानगरपालिकाले शुरु गरिसकेको बताउनुभएको छ ।
विपी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँगको परिचयात्मक कार्यक्रम’मा उहाँले लामो समयपछि महानगरपालिकाले नेतृत्व पाएकाले नगरको दिगो विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो ।
प्रमुख शाक्यले भन्नुभयो– “हामी स्वच्छ सहर वनाउन सिसि टिभीबाट अनुगमन गर्ने र जथाभावी फोहोर फाल्नेलाई दण्डित गर्नेसम्मका विविध रचनात्मक नीति निर्माण गरिरहेका छौँ ।”
कार्यक्रममा महानगरपालिकाका वडा अध्यक्षहरू शोभा सापकोटा, ख्यामप्रसाद तिवारी, निलकाजी शाक्यले काठमाडौं महानगरको विकासका लागि आफ्ना योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष जीवन डंगोलले जनताको घर आँगनको सरकारका रुपमा रहेका स्थानीय तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानले हामी साथ छौँ नामक एक महिने अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिलाई जनउत्तरदायी बनाउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
यसअन्तर्गत काठमाडौं लगायत सातै प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाई जनमुखी कार्यक्रमका लागि प्रेरित गर्ने खालका रचनात्मक कार्यक्रम गर्ने पनि अध्यक्ष डंगोलले बताउनुभयो ।
प्रतिक्रिया