२९ माघ २०८१, मंगलबार । February 12, 2025

मुख्य खबर

चारआली–चन्द्रगढी सडक निर्माण अलपत्र



भद्रपुर, १७ साउन । मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्ड निर्माण शुरु गरी अलपत्र छाडेर निर्माण ठेकेदार बेपत्ता भएपछि सरोकारवालाले निर्माण सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् ।

नेपाली काँग्रेस झापा क्षेत्र नं ३ का सभापति गणेश पोखरेलको नेतृत्वमा नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, विभूति विद्यामन्दिर, चन्द्रगढीका प्राचार्य गोविन्द लम्सालको टोलीले जिल्ला प्रशासनमार्फत सडक विभागलाई काम सञ्चालन गराउन ध्यानाकर्षण गराएको हो ।

चारआली–चन्द्रगढी सडकखण्डको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले भ्याटसहित रु ४१ करोड ६१ लाख ८४ हजार १४२ लागतमा २० किमी लम्बाइसहित नौ मिटर चौडाइ भएको कालोपत्रे सडक निर्माण गर्नेगरी कामको जिम्मा लिएको भएपनि काम अलपत्र छोडेर सम्पर्क बाहिर भएपछि समस्या भएको छ ।

सडकको दुर्दशाबारे स्थानीयवासीले गुनासो लिएर आएपछि झापाका निमित्त प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले समस्या समाधान गर्न पहलस्वरुप सडक विभागका निर्देशकलाई काम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलबार ००:००