१२ फाल्गुन २०८१, सोमबार । February 24, 2025

मुख्य खबर

सुत्केरीको हेलिकोप्टरबाट उद्धार



गोरखा, १३ साउन । सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको आज हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ ।

गाउँमा भरपर्दो प्रसूति सेवा नभएपछि हेलिकोप्टर चार्टर गरी गुरुङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । “सुत्केरी बेथाले थलिएकी गुरुङको हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल ल्यायाँैं । शल्यक्रिया गरी छोरा जन्मिएको छ । आमाको होस आइसकेको छैन” उद्धारमा संलग्न छेकम्पारका धावाग्याल्जेन लामाले भन्नुभयो, “बच्चाको अवस्था पनि सामान्य छैन ।”

दुई दिनदेखि गुरुङलाई सुत्केरी व्यथाले च्यापेको थियो । स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको रेखदेखमा राखिएको भए पनि सुरक्षित प्रसूति गराउन सकिएको थिएन ।

रु एक लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरिएको बताउँदै जिल्ला जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले हेलिकप्टर भाडा सरकारले तिर्ने बताउनुभयो । सडक नपुगेका ठाउँका सुत्केरी हुन सकेनन् भने सरकारतर्फबाट भाडा बेहोर्ने गरी हेलिकोप्टर चार्टर गरिन्छ । गुरुङको परिवारको आर्थिक अवस्था कमजोर छ । रासस

प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार ००:००