१ मंसिर २०८१, शनिबार । November 17, 2024

मुख्य खबर

गोकर्णमा सार्कका कलाकार



काठमाडौँ, १३ साउन । आजदेखि गोकर्णमा सुरु भएको सार्कका कलाकार सहभागी सार्क कला शिविरमा सहभागी बंगलादेशी कलाकार रिजाउन नावी बंगलादेशी कलालाई सार्कस्तरीय मञ्चमा प्रस्तुत गरेर सार्क देशबीचको मित्रतालाई अझ गाढा बनाउने ध्याउन्नमा हुनुहुन्छ ।

पहिलो पटक नेपाल टेकेकी भुटानी कलाकार तेन्जिङ योङचेर छोनी पेल्जोङ पनि भुटानको समसामयिक कलालाई पस्कने तरखरमा हुनुहुन्छ । श्रीलंकाका प्रिन्टमेकर जयन्त पुस्पकमारा नेपालको प्राकृतिक सौन्दर्य र आफ्नो देशको मौलिक कलालाई क्यान्भासमा सजाउँदै हुनुहुन्छ ।
नेपाली कलाकार एरिना ताम्राकारले नेपाली प्राकृतिक सौन्दर्यलाई महिला विम्बमा उतार्दै हुनुहुन्छ भने कलाकार अनिता भट्टराई यहाँको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई आफ्नो सिर्जनामा ल्याउँदै हुनुहुन्छ ।
यसै गरी नेपाली कलाकार लोक÷ परम्परागत कलाकार लोक चित्रकार, उदयचरण श्रेष्ठ र एससी सुमन लोककलामा पनि नेपाली समसामयिक कलाको विम्ब प्रस्तुत गर्दै हुनुहुन्छ । कलाकार ज्योतिप्रकाश विक, सुनिता राणा, जश्मीन राजभण्डारी, नम्रता सिंह र शुभ जोशीले आआफ्नो शैलीमा प्रकृति र लुकेका सौन्दर्यलाई कलामा प्रस्तुत गर्दै हुनुहुन्छ ।

नेपालमा पहिलो पल्ट आयोजित सो कार्यक्रम सार्क संस्कृति केन्द्र कोलम्बोको सातौंँ संस्करण हो । शिविरमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका लगभग तीस कलाकार सहभागी छन् । चारदिने शिविरको अन्तिम दिन साउन १६ गते सिर्जित कलाको प्रदर्शनी गरिने संस्कृति मन्त्रालयका उपसचिव रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार ००:००