२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

मुख्य खबर

दलीय स्वार्थभन्दा माथि उठेर विकास गर्ने उद्घोष



इलाम, २० असार । इलाम नगरपालिकाको प्रमुखमा नवनिर्वाचित महेश बस्नेतले अब आफू र अरु विजयी उम्मेदवारले दलीय स्वार्थभन्दा माथि उठेर जनताको हितमा समर्पित हुने बताउनुभएको छ ।

नेकपा (एमाले) को नगर कमिटीले सोमबार इलाम सदरमुकाममा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै बस्नेतले इलाम नगरको विकास र समृद्धि एकमात्र लक्ष्य हुने बताउनुभयो । नगरपालिकाको प्रमुखका रूपमा काम गर्दा कसैलाई पनि राजनीतिक रूपमा विभेद नगर्ने उहाँको भनाइ छ । बस्नेतले नगरपालिकालाई समृद्ध बनाउने काममा सहकार्य गर्न अन्य दलहरूलाई समेत आग्रह गर्नुभएको छ ।

आफूले जनतासँग भोट माग्दा गरेका प्रतिबद्धता र आफ्नो पार्टीले ल्याएको घोषणापत्रमा उल्लेख भएका बुँदालाई कार्यान्वयन गर्दै इलामलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउने प्रतिबद्धता जनाउनुभयो ।

बस्नेतले सरकार नागरिकका घरदैलोमा आएको भन्दै अब यो पार्टी ऊ पार्टी नभनी आफ्नो ठाउँको विकास र समृद्धिमा लाग्न इलामका सबै नागरिकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) इलामका अध्यक्ष राम राना, केन्द्रीय अनुशासन आयोगका सदस्य अगम वान्तवा, इलाम नगरको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो । विजयउत्सव मनाउन नगरपालिका क्षेत्रका नागरिक र एमाले समर्थकको बाक्लो उपस्थिति थियो ।

यसैबीच फाकफोकथुम गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकालाई भ्रष्टचारमुक्त बनाउने उद्घोष गर्नुभयो । सोमबार गाउँपालिकाको कार्यालयमा पदबहाली गर्दै अध्यक्ष श्रेष्ठले गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, वृद्धवृद्धालाई घरघरमै गएर वृद्धभत्ता वितरण गर्नेजस्ता नयाँ एजेन्डा अघि सार्नुभयो । पदबहाली गर्दै उहाँले भन्नुभयो “वृद्धभत्ताका लागि बैंकमा धाउनु पर्दैन, हामी जनताका सेवक हौँ, भत्ता घरघरमा पु¥याउँछौँ ।”

फाकफोकथुम गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत लीलाराज पौडेलले सोमबारनै प्रमाणपत्र वितरण तथा पद तथा गोपनीयताको शपथ गराउनुभयो । शपथ ग्रहणपछि गाउँपालिकाको कार्यालयमा गाउँ कार्यपालिकाको बैठकसमेत सम्पन्न भएको छ ।

प्रकाशित : २० असार २०७४, मंगलबार ००:००