गौशाला, २० असार । महोत्तरी जिल्लामा गएराति परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ ।
रातभरिको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ ।
जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले ती खाल्डाखुल्डीमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ ।
सबै बाटोमा माटाका थुप्रा यततत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फस्ने र दुर्घटना हुने डर भएकाले बाटो अवरुद्ध भएको छ ।
भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा बस, जिप, ट्र्याक्टर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको हो ।
यसैबीच, जिल्लाभित्रको एकमात्र जलेश्वर–बर्दिवास पक्की बाटो भएकाले सो बाटो भने अवरुद्ध नभएको तथा बाटो सुचारु नै रहेको देखिएको छ ।
प्रतिक्रिया