इटहरी, १९ असार । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तह निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयनसँगै नेपाली जनताले सिंहदरबारको अधिकारमा उपभोग गर्न पाउने सुनिश्चितता भएको बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहनुभएका गच्छदारले आज सुनसरीको दुहबी नगरपालिकामा आफ्नो पार्टीबाट केन्द्रीय सदस्यसमेत रहेका वेदनारायण गच्छदार नेतृत्वको टोलीले विजय प्राप्त गरेपछि आयोजित ¥यालीलाई सम्बोधन गर्दै जनअपेक्षानुसार काम गर्न तथा संविधान कार्यान्वयनको सन्देश घर घरमा पु¥याउने दायित्व निर्वाचित पदाधिकारीको काँधमा आएको स्मरण गराउनुभयो ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले अब बाँकी रहेको २ नं प्रदेशमा निर्वाचन सम्पन्न भएपछि प्रादेशिक र राष्ट्रिय चुनावलाई समयमै सम्पन्न गराउने सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो ।
दुहवी नगरपालिकामा विजयी वेदनारायणले प्रविधिको प्रयोगसँगै समाजलाई आमूल सुधार गर्ने पक्षमा आफूले जिम्मेवारी पाएकै दिनदेखि अहोरात्र लाग्ने र जनताका चाहनाका विकास योजनामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रमुखमा विजयी कविता दाहाल साह, सांसद सुमित्रा विश्वसलगायतले जनचाहनानुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया