२८ कार्तिक २०८१, बुधबार । November 14, 2024

मुख्य खबर

अछाममा मतगणना सम्पन्न



भीमदत्तनगर, १९ असार । यहाँका सबै १० स्थानीय तहको नतिजा आएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार साँफेबगर नगरपालिकाका प्रमुखमा नेकपा(एमाले)का कुलबहादुर कुँवर पाँच हजार ८३८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँंग्रेसका ध्वजबहादुर कँुवरले पाँच हजार ४१२ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा एमालेकै वीरमला बुड्थापा पाँच ९८४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रुपा आउजीले पाँच हजार २६५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कमलबजार नगरपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसका प्रमुखका उम्मेदवार ओमप्रकाश विष्टले तीन हजार ५८७ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दीपक अधिकारीले तीन हजार २७७ मत ल्याउनुुभएको छ । उपप्रमुखमा काँग्रेसकै भूमिसरा बजगाईँ ढकालले तीन हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मना अधिकारीले तीन हजार २३७ मत ल्याउनुभएको छ ।

त्यस्तै ढकारी गाउँपालिकामा काँग्रेसका धनबहादुर बुढा तीन हजार ४५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज साउदले दुई हजार ९३० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकै लक्ष्मी साउद तीन हजार ३८१ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमा शाहीले दुई हजार ९३० मत ल्याउनुभएको छ ।

त्यस्तै बान्नीगढी जयगढ गाउँपालिमा काँग्रेसका राजेन्द्र खड्का दुई हजार ७९३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कमल तिमिल्सेनाले दुई हजार ३१९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का लोकबहादुर साउद दुई हजार ४३६ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला रावलले दुई हजार ३८१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लोगबहादुर बोहरा चार हजार ५०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्मर नेपालीले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका धनबहादुर शाह चार हजार ४०८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका समिता महरले चार हजार २ मत ल्याउनुभयो ।

यसैगरी पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेसका देवराज देवकोटा तीन हजार ५५५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर कडायतले तीन हजार ७५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसका अम्बिका चलाउने तीन हजार ७६० मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी बोगटीले तीन हजार २१२ मत प्राप्त गर्नुभयो ।

चौरपाटी गाउँपालिकामा एमालेका हर्कबहादुर साउद तीन हजार १३८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भीमबहादुर साउदले तीन हजार १३७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका माया कुँवर तीन हजार १७३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला बोगटीले तीन हजार १०१ मत प्राप्त गर्नुभयो ।

तुर्माखाँद गाउँपालिकामा काँग्रेसका पुष्पराज शर्मा तीन हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदबहादुर बुढाले तीन हजार ३७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकै अमृता बुढा तीन हजार ३९२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी गौमती शाहीले तीन हजार ३२८ मत प्राप्त गर्नुभयो ।

रामारोशन गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जित हात पारेको छ । अध्यक्षमा माओवादी केन्द्रका झङ्कर साउद तीन हजार ४०२ र उपाध्यक्ष सरस्वती रावल तीन हजार २९० मत प्राप्त गरी विजयी हुनुभयो ।
उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः एमालेका चक्र रावलले दुई हजार ७३४ र बिन्द्रा साउदले दुई हजार ७६१ मत प्राप्त गर्नुभयो ।

अछामको सदरमुकाम समेत रहेको मङ्गलसेन नगरपालिका प्रमुखमा एमालेका पदमबहादुर बोहोरा चार हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांँग्रेस र माओवादी गठबन्धनका चन्द्रप्रसाद ढुङ्गानाले चार हजार ५५३ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा पनि एमालेकै सरिता उपाध्याय चार हजार ९११ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी रोहिना भण्डारीले तीन हजार ७६ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : १९ असार २०७४, सोमबार ००:००