त्रिशूली(नुवाकोट), १९ असार । जिल्ला समन्वय समिति नुवाकोटमा नौ सदस्य रहने प्रस्ताव गरिएको छ ।
आज भएको जिल्ला सभाको बैठकले सो प्रस्ताव पारित गरी निर्वाचन आयोगलाई जानकारी गराएको छ । बैठकका सहभागी २४ जनप्रतिनिधिमध्ये ज्येष्ठ जनप्रतिनिधि शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा बैठक बसेको बसेको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताउनुभयो ।
जिल्ला समन्वय समितिको पदाधिकारी चयनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउनेछन् । समितिमा सभापति, उपसभापति, तीन महिला सदस्य, तीन अन्य र दलित वा लोपोन्मुखबाट एक सदस्य चयन गरिने छ । समितिको सदस्यमा उम्मेदवार बन्नका लागि स्थानीय तहको प्रतिनिधि हुनैपर्ने व्यवस्था छ ।
आज नै जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत र लेखा अधिकृतलाई बजेट तथा कार्यक्रम निर्माण गर्नेसबन्धी अभिमुखीकरण दिइएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा सदरमुकाम विदुरमा भएको तालिमका सहभागीलाई स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ, उपसचिव महेश भट्टराई र स्थानीय विकास अधिकारी पण्डितले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया