इनरुवा, १९ असार । सुनसरीको भोक्राहा गाउँपालिकाको अध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ ।
आज बिहान घोषणा गरेको नतिजाअनुसार यादवले नेपाली काँग्रेसका अजमल अख्तर अजादलाई एक हजार ५३५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
यादवले तीन हजार ५२८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजमल अख्तर अजादले एक हजार ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पीताम्बर गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै पुनम मेहता विजयी हुनुभएको छ । उहाँले तीन हजार ३४३ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँले काँग्रसकी अञ्जु मेहतालाई एक हजार ३८ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । अञ्जुले दुई हजार ३०५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी भोक्राहा गाउँपालिकाका वडाध्यक्षहरुमा – १ मा एमालेका ललित थापा, २ मा नेपाली काँग्रेसका आलम मियाँ, ३ मा सङ्घीय समाजवादीका सुकदेव यादव, ४ मा काँग्रेसका हारुन अन्सारी, ५ मा एमालेका वसरुदिन मियाँ, ६ मा सङ्घीय समाजवादीका राजेश्वरप्रसाद यादव, ७ मा रामचन्द्र यादव, विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया