२९ कार्तिक २०८१, बिहिबार । November 15, 2024

मुख्य खबर

सामाजिक कामका लागि धर्मशाला सञ्चालनमा



काठमाडौँ, १८ असार । बौद्धनाथ क्षेत्र विकास समितिले समाज सेवामा योगदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका– ६ टुसालस्थित अमिताभ बुद्धमार्गमा धर्मशाला सञ्चालनमा ल्याएको छ ।

आर्थिक रुपले विपन्न भई विभिन्न स्थानबाट बौद्धनाथको दर्शन गर्न आएका भक्तजनलाई प्राथमिकतामा राखेर निःशुल्क खान बस्न सुविधा उपलब्ध गराउने उद्देश्यले धर्मशाला प्रयोगमा ल्याइएको छ । करिब १० आना क्षेत्रफलमा फैलिएको साढे तीन तल्ला तथा १८ कोठासहितको तयारी घर खरिद ऐनअनुसार बोलपत्र आह्वान गरेर खरिद गरिएको हो । उक्त घरलाई रु पाँच करोड ९० लाखमा खरिद गरी धर्मशालाका रुपमा विकास गरिएको समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गरिब तथा आर्थिक अवस्था कमजोर भएका भक्तजनका साथै होटलमा बस्न नसक्ने बौद्ध धर्मका दर्शनार्थीलाई धर्मशालामा बस्न दिइने छ । यसले बौद्ध दर्शनको विकासमा पनि सहयोग पु¥याउने विश्वास गरिएको छ ।

बौद्धनाथ क्षेत्रको समग्र पूर्वाधार विकास, बौद्धधर्मको प्रचारप्रसार, बौद्ध महास्तूपको जीर्णोद्धार तथा त्यस वरपर क्षेत्रका सम्पदास्थलको पुनःनिर्माणका क्षेत्रमा क्रियाशील रहेको समितिले भूकम्पपछि विभिन्न प्रभावित क्षेत्रमा राहत वितरण, बौद्ध साहित्यका कृति प्रकाशनलगायत सामाजिक गतिविधि सञ्चालन समेत गर्दै आएको छ ।

बौद्ध धर्मका विभिन्न सम्प्रदाय रहेकामा समितिले महायान अन्तर्गत ञिङ्मा, गेलुक, काग्यु र शाक्य परम्पराको विकास तथा धार्मिक अभ्यासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । महायानी परम्पराका अनुयायीले शाक्यमुनि बुद्धलाई पहिलो तथा पद्मसम्भवलाई दोस्रो बुद्ध तथा गुरु रिन्पोछेका रुपमा मान्ने गर्छन् । हिमाली भेगमा हुने बौद्ध अभ्यास तथा परम्परामा पद्मसम्भवको विशेष पूजा गर्ने गरिन्छ

बौद्धनाथ चैत्यको इतिहास, महत्व, चैत्य परिक्रमाका फाइदा तथा भूकम्पले क्षति पुगेको सो चैत्य जीर्णोद्धारका क्रममा गरिएका क्रियाकलापका बारेमा कृतिसमेत प्रकाशनमा ल्याइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्यको पूजाआराधना गर्ने उद्देश्यबाट निर्माण गरिएका चैत्यका गर्भ (जग)मा बुद्धको अस्थिधातु वा बौद्ध ग्रन्थ, मूर्ति तथा बहुमूल्य द्रव्य राखिएको विश्वास छ । चैत्य निर्माणका क्रममा यस्ता वस्तु राख्ने परम्परा छ ।

बौद्ध विद्वान् टीका शेर्पाले शाक्यमुनि बुद्धले दुःख, दुःखको उत्पति, दुःखको समाधानका उपाय तथा मार्ग सबै मानव समुदायलाई दिएको बताउँदै शान्तिपूर्ण तथा सहअस्तित्वको समाज निर्माणका लागि बौद्ध साहित्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

मानवीय सेवालाई प्राथमिकतामा राखेको बौद्ध दर्शनले विभिन्न ध्यान तथा योगका अभ्यासबाट स्वस्थ्य भई समाजको सेवामा लाग्न प्रेरित गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले बौद्ध साहित्यले सामाजिक न्याय तथा शान्तिपूर्ण समाजको परिकल्पनालाई प्रवाह गरेको विचार व्यक्त गर्दै नैतिक शिक्षाले भरिएको बौद्ध धर्ममा पुण्य र ज्ञान हासिल गरी आफूमा भएका खराब आचरणको न्यूनीकरण गर्ने उपायका बारे बताइएको जानकारी दिनुभयो । मानवीय सेवालाई प्राथमिकतामा राखेको बौद्ध दर्शनले विभिन्न ध्यान तथा योगका अभ्यासबाट स्वस्थ्य भई समाजको सेवामा लाग्न प्रेरित समेत गरेको छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००