काठमाडौँ, १६ असार । काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथको आठ किमी कालोपत्र चालु आर्थिक वर्षमा सकिने भएको छ ।
यो आवमा १५ किमी सडक कालोपत्र सक्ने लक्ष्य राखिए पनि आठ किमीमात्र सकिने भएको कान्ति लोकपथ सडक आयोजनाले जनाएको छ । यो वर्ष टीकाभैरवदेखि भट्टेडाँडासम्म तीन किमी र हेटौँडाको बुद्धचोकदेखि मकवानपुर गढीसम्म १२ किमी कालोपत्र गर्न जिम्मेवारी दिइएको योजना प्रमुख देवेन्द्र साहले राससलाई जानकारी दिनुभयो ।
“कालोपत्र गर्नुअघि दुई लेन कटिङ गर्न समस्या परेको छ, चार लेनमा सडक विस्तार गरी कालोपत्र गर्न स्थानीयवासीको बारी, घर, टहरा भत्काउनुपर्ने भएकाले समयमा काम सक्न सकिएको छैन, भिर र चट्टान भएका स्थानमा ब्लास्टिङ गर्न पनि समस्या भएको छ” – उहाँले भन्नुभयो ।
विसं २०१३ मा ट्र्याक खुलेको एक लेनको यो सडकमा २०१६ सालदेखि सवारी सञ्चालन सुरु भएको थियो । ललितपुर र मकवानपुरको सीमास्थित वाग्मती नदीमा पुल नभएको र कच्ची धुले सडक भएकाले वर्षमा नौ महिना पनि नियमित सवारी नचल्ने गरेको स्थानीयवासीको भनाइ छ ।
नेपाली सेनाले निर्माण गरेको यो राजमार्ग ६० वर्षसम्म ओझेलमा प¥यो । विसं २०५९ मा काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको यो मार्गलाई वैकल्पिक रुपमा विकास गर्न कोरियन सरकारको सहयोगमा विस्तृत परियोजना प्रस्ताव तयार गरिएको थियो ।
ललितपुरको चापागाउँ दोबाटोबाट मकवानपुरको हेटौँडास्थित बुद्धचोकसम्म ९० किमी दूरीको यो मार्गलाई सरकारले आव २०६५÷६६ देखि कान्ति लोकपथ सडक आयोजना स्थापना गरी स्तरोन्नति सुरु गरेको हो ।
विसं २०७५ सम्ममा उक्त मार्ग कालोपत्र गरिसक्ने योजना छ । सडक दुई लेनमा चौडा गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरतर्फ रु एक अर्ब १० करोड खर्च लाग्ने लोकपथ आयोजनाले जनाएको छ ।
ललितपुरको चापागाउँ दोबाटोदेखि हेटौँडाको बुद्धचोकसम्म ९० किमी लम्बाइ र तीनदेखि पाँच मिटर चौडाइ रहेको यो लोकपथलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख साहले बताउनुभयो ।
बुद्धचोकदेखि ललितपुरको टीकाभैरव पुलसम्म ७९ किमी सडक चौडा बनाउन कन्टेक प्रालि, एससिसी मोतीदान जेभी, महालक्ष्मी सिं एन्ड ब्रदर्स जेभी, कञ्चनजङ्घा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ । टीकाभैरव पुलदेखि चापागाउँ दोबाटोसम्म ११ किमी चौडा गर्ने कार्य सडक डिभिजन कार्यालय, ललितपुरले गर्नेछ ।
प्रतिक्रिया