म्याग्दी, १६ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा रु एक करोडभन्दा बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेल्फेयर स्किमको आर्थिक सहयोगमा रु एक करोड दुई लाख ७१ हजार ५१९ लगानीमा भवन निर्माण भएको हो ।
भवन निर्माणमा गोर्खा वेल्फेयर स्किमको रु ९१ लाख ५२ हजार ५२१ र समुदायको रु ११ लाख १८ हजार ९९८ बराबरको जनश्रमदान लगानी भएको विद्यालयका शिक्षक लोकराज रोकाले जानकारी दिनुभयो । ६ कोठे भवन निर्माण भएपछि विद्यार्थीलाई खुलाचौर र त्रिपालमुनि राखेर पढाउनुपर्ने बाध्यता अन्त्य भएको शिक्षक रोकाले बताउनुभयो ।
दुर्गम बस्तीमा पक्की भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनमा सहजता मिलेको छ । सो भवन निर्माणसँगै ९१ मिटर विद्यालय परिसरको खुला क्षेत्रलाई घेराबार पनि गरिएको छ ।
त्यस्तै, सोही योजनाअन्तर्गत नै विद्यालयलाई २५ थान बेन्च, ६ थान ह्वाइट बोर्ड र एउटा फोहोर जलाउने ठाउँसमेत निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले जानकारी दिनुभयो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन् ।
यसैबीच, हालै एक कार्यक्रमबीच सो नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयरको एरिया अफिसर म्याग्दीका खेमबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबहादुर घर्तीलाई भवनको साँचो हस्तान्तरण गर्दै भवनको उपयोग र व्यवस्थापन गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया