भक्तपुर, १५ असार । कृषि मन्त्रालय, कृषि विभाग हरिहर भवन १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मूल समारोह समितिले आज भक्तपुरमा धान दिवस मनाएको छ ।
चाँगुनारायण नगरपालिका–२ झौखेलमा आयोजना भएको धान दिवसमा स्थानीय टेकबहादुर लाखाजुको दुई रोपनी जग्गामा सामूहिक रुपमा धान रोपेर धान दिवस मनाइएको हो ।
बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न बाजागाजा र नाचगान गर्दै मनाइएको धान दिवसमा धान दिवससँग सम्बन्धित रहेर उपत्यकाव्यापी लोकगीत प्रतियोगितासमेत सञ्चालन गरिएको छ ।
प्रतियोगितामा ललितपुर सुनाकोठीका भगवती कृषक तथा महिला समूह प्रथम, लालुपाते कृषक तथा महिला सहकारी संस्था लिमिटेड दोस्रो र काठमाडाँै नागार्जुनको कालीदेवी कृषक तथा महिला समूह तृतीय भएको थिए ।
कार्यक्रममा किसान आयोगका सदस्य डा उदयचन्द्र ठाकुरले प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय हुने प्रतियोगी संस्थालाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसअवसरमा ठाकुरले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनु आवश्यक रहेको भन्दै सरकारले त्यसका लागि हरेक वर्ष नयाँ कार्यक्रम ल्याएको बताउनुभयो ।
सरकारले कृषिमा लगानी थप गर्दै आएको बताउँदै उहाँले कृषिलाई आधुनिक प्रविधियुक्त र प्राङ्गारिक कृषि उत्पादनतर्फ कृषकलाई आकर्षित गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्र, उपप्रमुख विना बास्तोला लगायतले नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको लगानीसँगै किसानको चाहना पनि बढ्नुपर्नेमा जोड दिनुभयो । खेतलाई बाँझो राख्ने प्रचलन बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उहाँहरुले कृषिमा कृषकको लगाव घट्दै गएको बताउनुभयो ।
प्रतिक्रिया