२० कार्तिक २०८१, मंगलबार । November 6, 2024

मुख्य खबर

नेपालको निर्वाचनप्रति अमेरिकाको सराहना



काठमाडौँ, १५ असार । संयुक्त राज्य अमेरिकाले व्यवथित, शान्तिपूर्ण तथा व्यापक समर्थनका साथ नेपालको दोश्रो चरणअन्तर्गत स्थानीय तहकोे निर्वाचन सम्पन्न भएकोमा हार्दिक सराहना गरेको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले आज एक प्रेस विज्ञप्ति जारी गरी बुधबार नेपालको प्रदेश नं– १, ५ र ७ का सबैजसो स्थानमा निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै तेश्रो चरणअन्तर्गत आगामी असोजमा प्रदेश नं– २ मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि उचित वातावरण निर्माण गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

निर्वाचनको उचित वातावरण बने प्रदेश नं– २ का नागरिकलाई पनि आफ्ना स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्त हुने अमेरिकाको विश्वास छ ।

साथै, अमेरिकाले तेश्रो चरण अर्थात् अन्तिम चरणमा हुने स्थानीय तहको निर्वाचनमा निर्वाध रूपमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि नेपाल सरकार समक्ष आग्रह गरेको छ । यसबाट मान्यता प्राप्त कूटनीतिलगायत अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचनको पर्यवेक्षण गर्ने र परिणामलाई समर्थन गर्ने मौका मिल्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय निर्वाचनको अन्तिमचरणमा सकेसम्म धेरै मतदाताको सहभागिता गराउन राजनीतिक सहमति कायम गर्ने प्रयत्नलाई जारी राख्न अमेरिकाले सबैमा आग्रह समेत गरेको छ ।

‘हामी नेपालमा निकट भविष्यमा सम्पन्न हुने प्रादेशिक तथा केन्द्रीय निर्वाचन पनि समयमै सम्पन्न भएको हेर्न चाहन्छौँ जसले नेपालको चुनावी प्रक्रियाको विश्वसनीयता बढाउनुका साथै लोकतान्त्रिक परिवर्तनलाई थप बलियो बनाउनेछ’ विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले शान्तिपूर्ण, समावेसी, व्यापक समर्थन प्राप्त तथा विश्वसनीय निर्वाचन प्रक्रियालाई सदैव प्रोत्साहन गरिरहने पनि प्रतिवद्धता जनाएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००