काठमाडौँ, १५ असार । नेपालमा किसानहरुले रोपाइँको तयारी थाल्दा वरिष्ठ कवि तुलसी दिवसलाई संयुक्त राज्य अमेरिकामा ‘अक्षरको खेती’ फैलाउँन भ्याइनभ्याई भएको छ ।
मुलुकका स्थानीय निर्वाचनको चटारो चल्दा दिवसले विदेशमा काव्यिक सिञ्चनका साथ भाषा, साहित्य, कला र संस्कृतिको दूतका रुपमा सन्देश प्रवाहित गर्नुभयो ।
“स्रष्टाहरु अक्षरको खेती गर्छन्, अक्षरको खेती गर्नेले सीमित खेत वा बारीमा फलेको बालीलाई उठाउँदैन, संसारभरकै बाली उठाउँछ ।” नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका सूत्रधार बन्नुभएका संस्कृति विद् एवम् प्राज्ञ प्राध्यापक दिवस भन्नुहुन्छ, “साहित्यकार इमान्दार र रचनागत वैशिष्टतायुक्त हुन सक्नुपर्छ, यसमा सबैको हैसियत बराबर हुन्छ, कसैलाई सानो वा ठूलो भनिँदैन ।” दिवसको यो सक्रियता कुनै प्राज्ञिक निकायको पदाधिकारीे भन्दा बढी देखिन्छ ।
तिन सातालामो अमेरिकाको साहित्यिक यात्रामा आधादर्जन सहरमा एकलबाचन, साहित्यिक मन्तव्य प्रस्तुत, अभिनन्दन ग्रहण र अन्य स्रष्टाका पुस्तक लोकार्पण गरेर स्वदेश फर्केका दिवसले रासससँग कुरा गर्दै आफूले त्यस प्रकारको सम्मान र सद्भाव पाइएला भनेर नसोचेको प्रतिक्रिया दिनुभयो ।
हालसम्म विश्वको करिब एक चौथाइ देशमा साहित्यिक भ्रमण गरिसकेका प्रवासी नेपालीमा आफ्नो भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मान अतुलनीय रहेको बताउँदै उहाँले भन्नुभयो, “भूगोल छोड्यो भन्दैमा देश छोड्यो भन्न नमिल्ने रहेछ, नेपाली कला र संस्कृतिको तथा नेपालको समृद्धि र प्रगतिको आकाङ्क्षालाई उनीहरुले कायम राखेको मैले पाएँ ।”
संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, न्युयोर्क, नर्थ क्योरोलिना, भर्जिनिया, कोलोराडो, बोष्टन आदि सहरमा उहाँको सम्मानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अन्य संस्था र गैर आवासीय नेपाली समुदायले स्वागत, सम्मान, अभिनन्दन र बाचन कार्यक्रम आयोजना गरेका थिए ।
दिवसको प्रस्तुतिलाई उनीहरुले आकर्षक मानेको सामाजिक सञ्जालमा पनि अभिव्यक्त भएको छ । गायक आनन्द श्रेष्ठले सामाजिक सञ्जालमा “आज अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा तुलसी दिवस मनाइयो” भनी गरेको टिप्पणी त्यसैको एक उदाहरण हो ।
कविता सिर्जना, बाचन र साहित्यिक विचारमा नेपाली, अङ्ग्रेजी र कतिपय अन्य भाषामा समेत सशक्त प्रस्तुति दिनसक्ने भएकाले पनि उहाँलाई विश्वस्तरका यस्ता साहित्यिक यात्रामा बाराम्बर आमन्त्रण गरिएको पाइन्छ । दिवसलाई अष्ट्रेलिया र क्यानाडाबाट पनि यस्तै निमन्त्रणा आइसकेको छ ।
यस्ता यात्राबाट के अनुभव गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँ भन्नुुहुन्छ, “सङ्ख्यात्मक रुपमा नभई मौलिक र नुनत् सिर्जनामा जोड दिन सकिए जहाँबाट पनि मानिसले सम्झन्छन्, साहित्यलाई केवल मनोरन्जनको स्रोत र साधन मात्र नभई दिगो विकास, लैङ्गिक समानता, वाक् स्वतन्त्रता र अभौतिक सांस्कृतिक सम्पदासँग जोड्न सकिन्छ भन्दै आएको थिएँ, त्यो अकाट्य रहेको बोध भयो ।”
प्रतिक्रिया