३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

मुख्य खबर

चार हजार परिवार नदी कटानको उच्च जोखिममा



गाईघाट (उदयपुर), १३ असार । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाम लागेपछि त्रियुगा र बरुवा नदीको बाढीका कारण उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा र त्रियुगा नदी आसपास बसोबास गर्दै आएका आधा दर्जन गाउँका चार हजार घरपरिवार नदी कटानको उच्च जोखिममा पर्दै आएका छन् ।

यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा सो नगरपालिकाको वडा नं १२ स्थित बोटटोल, बगरटोल, भुल्के, साधना टोलसहित नगरको वडा नं ७ को पोर्ताह, लक्ष्मीपुर र असारी क्षेत्रका झन्डै चार हजार घरपरिवार दुुबै नदीबाट हुने कटानको उच्च जोखिममा पर्दै आएका हुन् ।।

पोर्ताहका गणेबहादुर कार्की भन्नुहुन्छ, “अहिलेसम्म पनि नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएको छैन, जब रातिको समयमा वर्षा हुन्छ, हामी सबै टोलवासी जागा भएर रात काट्न थालेका छौँ, कतिखेर बरुवा नदीको बाढी गाउँमा प्रवेश गर्ने हो भन्ने चिन्ताले गाउँलेलाई भोक र निद्रा नै हुँदैन ।”

लक्ष्मीपुरका देवकृष्ण चौधरीको गुनासो पनि उस्तै छ, उहाँ भन्नुहुन्छ, “आफूहरु बरुवा र त्रियुगा नदीको घेराभित्र बसोबास गर्दै आएका छौँ, जब आकासमा गड्याङगुडुङ गर्न थाल्छ गाउँले दिनरात डर र त्रासमा बस्नुपर्छ, कतिखेर बरुवा र त्रियुगाको बाढी गाउँमा छिर्छ भन्ने चिन्ताले आफूहरुलाई सताउने गर्छ ।”

वर्षा लागेसँगै खेती गर्ने याम आएकाले वर्षा हुनु राम्रो भए पनि आफूहरुलाई भने वर्षा नभए पनि हुन्थ्यो जस्तो लाग्ने गरेको अर्का स्थानीय बासिन्दा भिखन चौधरी बताउनुहुन्छ ।

अहिलेसम्म यस क्षेत्रमा त्रियुगा र बरुवा नदीले झन्डै एक हजार ५०० बिगाहा नम्बरी जग्गा कटान गरिसकेको अर्का स्थानीयबासी सेतु चौधरीको गुनासो छ ।

नदी नियन्त्रण गर्न आफूहरुले सम्बन्धित निकायलगायत त्रियुगा नगरपालिकादेखि संसद्सम्म पुग्दा पनि यसमा उचित सुनुवाइ नभएका कारण आफूहरु लामो समयदेखि वर्षायाममा नदी कटान र बाढीको चपेटामा बाँच्दै आउनुपरेको पोर्ताहका कुमार खड्काले बताउनुभयो ।

स्थानीय जनताले आफैँले रकम सङ्कलन गरेर पनि सामान्य तटबन्ध बनाउन पहल सुरु गरेपनि पर्याप्त तार तथा जालीको अभाव र पुग्दो राकमको जोहो गर्न नसक्दा वर्षायाममा आफूहरुले कष्ट भोग्दै आउन परेको स्थानीयवासी बताउँछन् ।

त्रियुगा नगरपालिका–१२ जनप्रेमी निमाविका प्रधानाध्यापक शैलेन्द्र खतीवडाका अनुसार आफूहरुले पुरानो गाईघाट, बगरटोल, लक्ष्मीपुर, पोर्ताह क्षेत्रमा त्रियुगा र बरुवा नदीको कटान नियन्त्रण गर्न जिल्लाका सांसददेखि मन्त्रीहरुसंग पनि गुनासो राखिसकेका छौँ तर अहिलेसम्म आश्वासनबाहेक अरु केही पाउन सकिएन, बर्खा लाग्नासाथ आफूहरु असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उहाँको गुनासो छ ।

प्रत्येक वर्ष बर्खा लाग्नासाथ त्रियुगा र बरुवा नदीको बाढी गाउँमा प्रवेश गर्ने र नम्बरी जग्गा कटान गर्ने पीडा भोग्दै आएका यस क्षेत्रका जनताले यस वर्ष पनि समयमा नदी नियन्त्रणको पहल नहुँदा नदी कटानको समस्या झेल्नु पर्ने अवस्था आएको बताउँछन् ।

बर्खा लागिसकेका कारण जुनसुकै बेला पनि बाढी आउन सक्ने र धेरै क्षति हुन सक्ने भएकाले यस क्षेत्रमा चार हजार घरपरिवार वर्षेनि असुरक्षित महशुस गर्नुपरेको हो

अहिलेसम्म यस क्षेत्रमा त्रियुगा र बरुवा नदीले एक हजार ५०० बिगाहाभन्दा बढी नम्बरी जग्गा तथा घर कटान गरेकाले ५०० भन्दा बढी विस्थापित भइसकेको लक्ष्मीपुर उच्चमावि व्यवस्थापन समितिका अध्यक्ष समुद्री चौधरी बताउनुहुन्छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००