२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

मुख्य खबर

सबै मतदान केन्द्रमा कर्मचारी खटिए



धनगढी, ११ असार । कैलालीका सबै स्थानीय तहमा निर्वाचन सामग्रीसहित दुई हजार ९४० कर्मचारी खटिएका छन् ।

एक उपमहानगरपालिका, सात नगरपालिका र छ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको कैलालीमा २३१ मतदान स्थल र ४९० मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि जिल्लामा ४९० मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत, ९८० सहायक कर्मचारी र त्यतिकै सङ्ख्यामा कार्यालय सहयोगी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन स्थलमा खटिएका कर्मचारीले आज बिहानैदेखि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदाता शिक्षा दिइरहेको सहायक निर्वाचन अधिकृत नारायण ओझाले बताउनुभयो ।

यसैबीच निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने भएपछि विभिन्न पदका प्रत्यासीले मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । दल र स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रम गरी मतदातालाई रिझाउने कसरत गरिरहेका हुन् ।

एउटा पार्टीको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पार्टीको उम्मेदवार आँगनमा पुगेर मत मागिरहँदा रोचक बन्ने गरेको धनगढी उपमहानगरका राजेन्द्र सिंहले बताउनुभयो ।

जिल्लामा ६८९ पदका लागि कुल तीन हजार ४४८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००