काठमाडौँ, ११ असार । सिन्धुपाल्चोकको गिरानचौरस्थित धुर्मस सुन्तली फाउन्डेशनद्वारा निर्माण गरिएको एकीकृत बस्तीमा अत्याधुनिक पुस्तकालय सञ्चालनमा आएको छ ।
गोकर्णेश्वर नगरपालिका– ८ निवासी समाजसेवी दीपकसिंह भण्डारी तथा उहाँकी श्रीमती शकुन्तला भण्डारीले स्व पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञकुमारी भण्डारीको सम्झनामा सो पुस्तकालय स्थापना गर्नुभएको हो ।
पुस्तकालयमा विभिन्न विधाका पुस्तक, फर्निचर, ल्यापटपसहित करिब रु आठ लाख बराबरको सामग्री छ ।
सिन्धुपाल्चोक क्षेत्र नं ३ का सांसद शेरबहादुर तामाङ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायतले संयुक्तरुपमा शनिवार सो पुस्तकालयको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा एकीकृत बस्तीको सहयोगार्थ गोकर्णेश्वर नगरपालिकाका समाजसेवी लक्ष्मण श्रेष्ठले रु पाँच हजार तथा मोहन बराल र प्रदीप ठकुरीले पनि क्रमशः रु तीन–तीन हजार प्रदान गर्नुभयो । चामुण्डा माध्यमिक विद्यालयका प्रअ यादवप्रसाद पौडेलले विद्यालय परिवारकातर्फबाट शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गर्नुभयो ।
गोकर्णेश्वर नगरपालिकाकै अच्युत चालिसेले व्यक्तिगत रुपमा पोडियम उपलब्ध गराउनुभयो । कार्यक्रममा सांसद तामाङ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख चालिसे लगायतले एकीकृत बस्तीका लागि पुस्तकालय स्थापना गरिदिएर समाजसेवी भण्डारीले उदाहरणीय काम गर्नुभएको बताउनुभयो ।
सो अवसरमा बस्तीकोतर्फबाट समाजसेवी भण्डारीको विशेष सम्मानसमेत गरिएको थियो । कार्यक्रममा गोकर्णेश्वरका स्थानीय समाजसेवी शत्रुध्नबहादुर सुवेदी, डा सुवास प्याकुरेल, कुमार श्रेष्ठ, आनन्द बराललगायतले एकीकृत बस्तीमा शैक्षिक वातावरण बनाउन पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रतिक्रिया