दाङ, ११ असार । गृहमन्त्री जनार्दन शर्माले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
देउखुरीको राप्ती गाउँपालिका– १ भालुवाङ पुल्चोकमा आज आयोजित चुनावीसभामा उहाँले भन्नुभयो– “शान्तिसुरक्षाको प्रत्याभूति सरकारले दिन्छ, यसमा तपाईहरु ढुक्क हुनुहोस् र चुनावमा निर्भिक भएर सहभागी हुनुहोस् ।”
गृहमन्त्री शर्माले “चुनावमा जनताको मत किनबेच हुन सक्छ, यसप्रति चनाखो हुनुहोला र कुनै डर नमानी भोट हाल्नुहोला” भन्दै कसैको करकापमा नपर्न सबै मतदातालाई आह्वान गर्नुभयो ।
“अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि हो”, उहाँले भन्नुभयो – “राजनीतिक इच्छा शक्ति भए अबको १० वर्षमा नेपाललाई आर्थिक रुपले समृद्ध बनाउन सकिन्छ ।”
माओवादी केन्द्रका नेतासमेत रहनुभएका गृहमन्त्री शर्माले आफ्नो पार्टीका उम्मेदवार विजयी भएमा उसले शासक नभई जनताको कामदारका रुपमा काम गर्ने विश्वास दिलाउँदै आफ्नो पार्टीका उम्मेदवारले झुठा आश्वासन बाँड्दैनन्, जनताको मन जितेर अघि बढछन् भन्नुभयो ।
“हामी आफ्ना उम्मेदवारलाई शासक बन्न दिँदैनौँ, उनीहरु जनताको कामदारका रुपमा काम गर्नेछन्” भन्दै उहाँले जनयुद्धकालमा आफूहरुलाई जनताले खाना खुवाएर प्रहरी प्रशासनबाट जोगाएर राखेको र अहिले पनि मुलुकलाई समृद्ध राष्ट्रको रुपमा विकसित गराउनका लागि जनताले पार्टीका उम्मेदवारलाई जिताउनेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो ।
गृहमन्त्री शर्माले अघिल्लो सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारीमा रहँदा देशबाट विद्युत्भार कटौतीमुक्त गरेर देखाएको चर्चा गर्दै “म सरकारमा रहँदाको अनुभवले भन्छु, अबको १० वर्षभित्र देशलाई समृद्ध बनाउन सकिन्छ, त्यो आत्मविश्वास बढेको छ भन्नुभयो ।
प्रतिक्रिया