काठमाडौँ, ११ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोग र सुरक्षा निकायबीच आज आयोगको कार्यालयमा छलफल भएको छ ।
छलफलमा पहिलो चरणअन्तर्गत भएकोे स्थानीय तहको निर्वाचन अनुगमनका क्रममा आयोगको अनुगमन टोलीलाई केही स्थानमा निर्वाध प्रवेश गर्न रोक लगाइएको, सुरक्षाकर्मीले पर्याप्त आरामको अवसर पाउन नसकेको, कार्यबोझ थपिएको र म्यादी प्रहरीको प्रयोग लगायतका विषयमा आयोगले ध्यानाकर्षण गराइएको थियो ।
सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा मानवाधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो ।
गृह सचिव लोकदर्शन रेग्मीले सुरक्षा निकाय मानवअधिकारप्रति सचेत रहेको र सुरक्षा अवस्थाका बारेमा वर्गीकरणसहित सबै तयारी पूरा भएको उल्लेख गर्दै पहिलो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा भएगरेका कमीकमजोरीलाई नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलमा आयोगका अध्यक्ष शर्मा, प्रवक्ता मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौडेल, सचिव वेद भट्टराई, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया