बाजुरा, १० असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि दुर्गम गाउँपालिकामा पठाइएको मतपत्र सम्बन्धित मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बुधबार मतदान अधिकृतसहित पठाइएको मतपत्र तीन दिनपछि सम्बन्धित मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो ।
दोस्रो चरणको निर्वाचनका लागि पहिलो चरणमा तालिम लिएका मतदान अधिकृत बुधबार देखिनै मतदान केन्द्रमा खटिएको सेनले बताउनुभयो । उत्तरी भेगमा रहेका २७ मतदान केन्द्रमा २७ मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी गरी १५५ कर्मचारी खटाइएको थियो ।
अन्य मतदान केन्द्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी आज मतदान केन्द्रमा जाने मुख्य निर्वाच अधिकृतको कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७० मतदानस्थल र ९२ मतदान केन्द्रमा ९२ मतदान अधिकृत, ९२ सहायक मतदान अधिकृत, १८४ सहायक कर्मचारी र १७६ सहयोगी कर्मचारी गरी ४४४ कर्मचारी र मतपत्र पठाइएको बताउनुभयो ।
निर्वाचन नजिकिएसँगै छेडेदह गाउँपालिकामा भएको घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ लामिछानेले बताउनुभयो ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना खटाइएको सुरक्षा समितिका संयोजक तथा प्रजिअ लामिछाने जानकारी दिनुभयो ।
बाजुरामा ६४ हजार ९५० मतदाता रहेका छन् । तीमध्ये महिला ३३ हजार ६६७ जना र पुरुष ३४ हजार ५७५ र दुई जना तेस्रो लिङ्गी रहेका जिल्ला निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले बताउनुभयो ।
प्रतिक्रिया