काठमाडौँ, ८ असार । सहरी विकास मन्त्री प्रभु साहले मन्त्रालयअन्तर्गतका निकायमा ठेक्का र टेन्डरमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट प्रवाह हुने सेवासुविधा र काम कारवाहीबारे आज समितिको कार्यालय गुह्येश्वरी जानकारी लिदैं उहाँले समयमै ठेक्का नसकिएकाबारे संवेदनशील हुन पनि विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।
मन्त्री साहले “विसं २०६६ को टेन्डरको काम अहिले पनि जारी छ, ९० प्रतिशत सम्पन्न भयो भनेर प्रस्तुति आउने गरेका छन्, के कारणले यसरी पुराना काम सम्पन्न हुँदैनन् ?” भन्दै दातृ निकायले नेपालको सरकारी निकायको खर्च गर्ने क्षमता कमजोर रहेको तथा खर्च गर्न सक्दैन भनेर प्रश्न चिह्न उठाउने गरेकाले त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “छलफलका क्रममा ढलको काम एउटाले, सडकको काम अर्कोले र कालोपत्रको काम अर्कैले गर्दा समस्या देखिएको पाइयो छ, यस्ता समस्या हल गर्न संयुक्त समन्वय संयन्त्र बनाएर अगाडि बढ्नुहोस् ।”
बजेट बिनियोजन गर्दा कम भयो भन्ने तर बिनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिदैं मन्त्री साहले हिजोको वाग्मती र आजको वाग्मती हेर्दा धेरै गौरव गर्ने ठाउँ भए पनि त्यो लक्ष्यअनुसार नभएको बताउनुभयो ।
उहाँले युएन पार्क ओगटेर बसेको सकुम्बासीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउँदै “पार्कको खाली जग्गामा धान रोप्ने काम बन्द गर्न किन नसक्नुभएको, खाली जग्गा तत्काल उपभोग गर्नुस् भन्नुभयो,।”
वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव तथा आयोजना प्रमुख ज्योतीकुमार श्रेष्ठले उपत्यकाभित्र ४४ किमीमध्ये लम्बाइ भएको वाग्मतीमा १३ किमीमा सडक करिडोर बनाइसकिएको जानकारी दिनुभयो ।
उहाँले सुकुम्बासी हटाउन, पानीको बहाब बढाउन, प्रदूषण घटाउन, बालुवा चोरी नियन्त्रण गर्न, नदीको सीमाङ्कन, नदीको बहाब परिवर्तन गर्दा १८८ रोपनी जग्गाको विवाद हल हुन नसकेको जस्ता समस्या रहेको जानकारी दिनुभयो ।
युएन पार्क विकास समितिका कार्यकारी निर्देशक, लक्ष्मीनारायण चौधरी, राष्ट्रिय आवास कम्पनीका कार्यकारी निर्देशक गोकर्ण सापकोटा, अन्तर्राष्ट्रिय सम्मेलन विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले आफ्नो संस्थाको गतिविधि, समस्या र आगामी कार्यक्रमबारे मन्त्री साहलाई जानकारी गराउनुभएको थियो ।
सो अवसरमा मन्त्री साहले वाग्मतीको गुह्येश्वरीदेखि गोकर्ण खण्ड, ढल प्रशोधन केन्द्र गुह्येश्वरीको स्थलगत अवलोकन पनि गर्नुभयो ।
प्रतिक्रिया