१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

ललितपुर  मतगणना विवाद : आयोगका नाममा कारण देखाउ आदेश



ललितपुर महानगरपालिकाको मेयर र वार्ड नं ९ को सदस्य उपेन्द्र अवालेको मतगणनासम्बन्धी विवादमा अदालतले विपक्षीको नाममा कारण देखाउन आदेश दिएको छ ।
ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकारले आफूलाई बदनियतपूर्वक हराइएको भन्दै दायर गरेको उजुरीमा उच्च अदालत पाटनले शुक्रबार विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । व्यञ्जनकारले उच्च अदालत पाटनमा बुधबार फिरादपत्र दर्ता गराएका थिए ।
मत गणनााकै समयमा दिइएका पटक पटकका निवेदनहरुको सुनुवाई नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षर समेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी एमालेका मेयरका उम्मेदवार व्यन्जनकारले बुधबार मुद्धा दायर गरेका थिए । व्यञ्जनकारसंगै ९ नं वडाका सदस्य अवालेको पनि फिराद रहेको छ ।
महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमति बेगर आयोगका कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको दावी छ । आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४ सय १५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर काँग्रेसका चिरीबाबु महर्जनको भन्दा ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् । निवेदनमा निर्वाचन आयोग बहादुरभवन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर, निर्वाचन अधिकृतको कार्यालय ललितपुर महानगरपालिका, निर्वाचित घोषणा गरिएका चिरिवावु महर्जन र ललितपुर महानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ ।
व्यञ्जनकारका तर्फबाट अधिवक्ताहरु चुडामणी पौडेल, गोविन्द वन्दी, टिकाराम भट्टराई, पुरुषोत्तम ढुंगाना, सुरेन्द्र थापा, रक्षा बस्याल, रमेश बराल, श्रीकान्त शर्मा लगायतले बहस गर्नेछन् ।

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार ००:००