स्कोपे (मेसेडोनिया), १५ वैशाख । नयाँ सभामुखलाई दिइएको मतदानप्रति असन्तुष्टि जनाउँदै मेसेडोनियाको संसद भवनमा राष्ट्रवादी प्रदर्शनकारी प्रवेश गरेपछि बिहीवार भएको झडपमा कम्तीमा १०० जना घाइते भएको यहाँका गृहमन्त्रीले जनाएका छन् ।
केही नकाबधारी व्यक्तिसहित दर्जनौँ मानिस प्रवेश गरी प्रहरी घेरालाई तोड्दै संसदभित्र प्रवेश गरेपछि भएको झडपमा उनीहरु घाइते भएका हुन् ।
राष्ट्रवादी नारा लगाउँदै मेसेडोनियाको राष्ट्रिय झण्डा हातमा लिएका प्रदर्शनकारी राष्ट्रिय गान गाउँदै संसदमा प्रवेश गरेका थिए । उनीहरुले नयाँ सभामुखलाई मतदान गरेको आक्रोसमा संसदमा सांसदविरोधी नारासमेत लगाएका थिए ।
झडपका क्रममा खिचिएका र सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका दृश्यचित्रमा दुई समूहबीच संसदको सञ्चार कोठामा मुक्कामुक्की भएको र पार्टीका प्रमुखहरुलाई उनीहरुका स्थानबाट जबरजस्ती उचाली फ्याकिएको देखाइएको छ ।
प्रतिपक्षी दल सोसल डेमोक्रेटका नेता भिडियोमा रक्ताम्मे अनुहार र रगतले भिजेको लुगासहित सार्वजनिक दृश्यचित्रमा देखाइएको थियो । प्रदर्शनकारीले एक महिला सांसदलाई कपालमा समाती लतारेको पनि देखाइएको थियो ।
मेसेडोनियाका गृहमन्त्रीद्वारा शुक्रबार जारी विज्ञप्तिमा केही महिलासहित १०२ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
गृहमन्त्री अगिम नुहिउले यसपूर्व १० जना सांसद र केही सङ्ख्यामा सञ्चारकर्मी घाइते भएको बताउनुभएको थियो ।
शुक्रबार संसद भवन वरपरको वातावरण सामान्य भइसकेको छ भने सरकारले थप हिंसा भड्किन नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई परिचालित गरेको छ ।
राष्ट्रवादी प्रदर्शनकारीले सोसल डेमोक्रेटिक पार्टी र अल्वानियाली दलको संयुक्त गठबन्धनविरुद्ध प्रदर्शन गरेको बताइएको छ ।
प्रतिक्रिया