काठमाडौँ, १४ फागुन । त्रिविले यही फागुन १८ गतेका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मनोनयन दर्ताको दिन आज विभिन्न क्याम्पसमा गरिएको तालाबन्दीको अनेरास्ववियु(क्रान्तिकारी)ले विरोध गरेको छ ।
क्रान्तिकारीले आज यहाँ पत्रकार सम्मेलन गरी सबैको सहमतिमा तोकिएको स्ववियुको निर्वाचनलाई भाँड्ने मनसायका साथ गरिएको तालाबन्दीलाई अलोकतान्त्रिक चरित्रको संज्ञा दिएको छ ।
काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश क्याम्पसमा गरिएको तालाबन्दी खोली निर्वाचनको वातावरण बनाउन क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आग्रह गर्नुभएको छ ।
नेपाल विद्यार्थी सङ्घलगायत केही विद्यार्थी सङ्गठनले उपत्यकाका विभिन्न क्याम्पसमा तालबन्दी गरेका छन् । समग्र निर्वाचन प्रक्रियालाई धरापमा पार्ने काम भएको जनाउँदै क्रान्तिकारीले निर्वाचनको मुखमा आएर चालिएको यस्तो प्रवृत्तिप्रति निन्दासमेत गरेको छ ।
स्ववियुको गरिमा र अस्तित्व बचाउनका लागि अविलम्ब लोकतान्त्रिक प्रक्रियामा आउन क्रान्तिकारीले नेविसङ्घलगायत विद्यार्थी सङ्गठनलाई आग्रह गर्दै निर्वाचनमा देखिएका सबै व्यवधान तत्काल हटाई निर्धारित मितिमै स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविवि पदाधिकारीसमक्ष माग गरिएको छ ।
क्रान्तिकारीले मुलुकका १२ क्याम्पसमा आफू र आफ्नो सङ्गठन विजयी भएको जनाएको छ । अध्यक्ष न्यौपानेका अनुसार गुराँस बहुमुखी क्याम्पस, सानोश्री बर्दिया, त्रिपुरा क्याम्पस, नाम्दु दोलखा, जनज्योति क्याम्पस, पुर्कोटदह गुल्मी, वनगाड क्याम्पस, वनगाड सल्यान, फारुला बहुमुखी क्याम्पस, फारुला सल्यान, शिवजन क्याम्पस, शीतलपाटी सल्यान, लटिनाथ बहुमुखी क्याम्पस, मार्मा दार्चुला, गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर दार्चुला, सिमृतु शिक्षा क्याम्पस, रुघा रुकुम, सानोभेरी शिक्षा क्याम्पस रुकुम, सिम्ली, स्यार्पु बहुमुखी क्याम्पस रुकुम, बाफिकोट सिस्ने शिक्षा क्याम्पस, रुकुमकोटमा क्रान्तिकारी विजयी भएको छ । रासस
प्रतिक्रिया