बागलुङ, २१ साउन । जिल्ला समन्वय समितिमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार भएको चुनावमा गठबन्धनका राजेन्द्र ढुंगाना समितिको संयोजकमा निर्वाचित हुनुभएको हो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य उहाँले नेपाली काँग्रेसका लक्ष्मण आचार्यलाई चार मत अन्तरले पराजित गर्नुभएको हो । ढुंगानाले १२ र आचार्यले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिनुभयो ।
समितिका उपसंयोजकमा भने नेकपा (एमाले)का विष्णु भुसाल निर्वाचित हुनुभएको छ । समितिका सदस्यमा एमालेबाट राजु केसी र रुपा विक, राजमोबाट ताराकुमारी पुन, माओवादी केन्द्रबाट झंकबहादुर कामी, दलबहादुर थापा र फुलकुमारी पुन तथा राप्रपाबाट डिल्ली आचार्य निर्वाचित हुनुभएको छ ।
चुनावका लागि काँगेससँग आठ, एमालेसँग छ, माओवादी केन्द्रसँग दुई, राजमोसँग तीन र राप्रपासँग एक मत थियो ।
प्रतिक्रिया