भक्तपुर, २० साउन । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यही साउन २२ गते हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्धारण गरेको तालिका अनुसार आइतबार निर्वाचन हुने भएको हो ।
चार वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थाअनुसार भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगर प्रमुख एवं उपप्रमुखगरी आठ जनाले मतदान गर्नेछन् ।
नौ सदस्य समितिका लागि नेकपा (एमाले)बाट प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवरसहित सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसंख्यक सदस्यमा गीता विसुङ्खेले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नेमकिपाले प्रमुखमा कमला भारती गिरी र उपप्रमुखमा हरि रत्न गोर्खालीसहित सदस्यमा रोशनमैया सुवाल, रोशन खत्री, जितेन्द्र मुनकर्मी, रञ्जना त्वाती, जगतलाल मानन्धर र विजयालक्ष्मी शाक्य तथा दलित तथा अल्पसंख्यक सदस्यमा सुनिता द्यौलालाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले भने उम्मेदवारी दिएको छैन । कुल आठ मत रहेकामा एमालेको पाँच मत, नेमकिपाको दुई मत र नेपाली काँग्रेसको एक मत रहेको छ ।
प्रतिक्रिया