३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

सुदूरपश्चिममा यार्सा संकलनको अवस्था समान



भीमदत्तनगर, २० साउन । झण्डै आधा दशकको यार्सागुम्बा संकलनको प्रतिवेदनले सुदूरपश्चिममा यार्सागुम्बा संकलनको स्थिति समान देखाएको छ ।

सुदूरपश्चिमको यार्सा पाइने जिल्ला दार्चुला र बझाङमा तथ्यांकअनुसार यहाँ हरेक वर्ष संकलन हुने यार्साको परिणाममा धेरै भिन्नता देखिएको छैन । अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय दार्चुलाका सूचना अधिकृत भुवनेश्वर चौधरीले विगतको यार्सा संकलनको परिणाम हालसम्म पनि समान रहेको बताउनुभयो ।

गत वैशाखदेखि असारसम्म दार्चुलामा छ क्विन्टल २९ किलो यार्सा संकलनका लागि व्यापारीले अनुमति लिएको सूचना अधिकृत चौधरीले जानकारी दिनुभयो । जसमध्ये दुई क्विन्टल ४६ किलोग्रामको निकासी गरिरहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । निकासी गर्दा व्यापारीले प्रतिकेजी रु २५ हजार राजश्व बुझाउनुपर्ने प्रावधान छ ।

“चार÷पाँच वर्षको यार्सा संकलनको परिणाममा धेरै उतारचढाव छैन ।” चौधरीले भन्नुभयो, “दार्चुलामा वर्षेनी करिब आठ क्विन्टलको हाराहारीमा यार्सा संकलन हुँदै आएको तथ्यांक छ ।” व्यापारीले यार्सा पाइने उच्च हिमाली भेग पुगेर संकलनकर्ताबाट यार्सा संकलन गरेर निकासी गर्ने गरेका छन् । यो वर्ष दार्चुलामा ७९ जनाले यार्सा संकलनको अनुमति लिएको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।

दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, तितला, गुल्जर, व्यास, राप्लालगायतका हिमाली भेगमा यार्सा संकलन गर्न हरेक वर्ष पाँच हजारभन्दा बढी संकलनकर्ता कार्यालयमा आउने गरेको बताइएको छ । आम्दानीको राम्रो स्रोत बनेकाले संरक्षण क्षेत्रका स्थानीयवासी विद्यालयसमेत छाडेर यार्सा टिप्न जाने गरेका भए पनि धेरै संकलनकर्ता संरक्षण क्षेत्रको कार्यालयमा संकलक परिचय पत्र बनाउन आउँदैनन् ।

यार्सा संकलन गरी जिल्ला बाहिर निर्यात गरेबापत व्यापारीले हरेक वर्ष करोडौँ राजश्वसमेत बुझाउँदै आएका छन् । जिल्लाका सबै भेग, बैतडी, कञ्चनपुरबाट समेत संकलनका लागि स्थानीयवासी त्यहाँ जाने गरेका छन् । “पहिले त व्यापारीहरु धादिङबाट समेत संकलक लिएर दार्चुला पुग्थे ।” सूचना अधिकृत चौधरीले भन्नुभयो, “दुई वर्ष भयो धादिङबाट आएका छैनन् ।” यार्सा संकलन गरेर काठमाडौँ बढी निकासी हुने गरेको भए पनि यार्सा संकलन कार्यलाई अझै व्यवस्थित गर्न सकिएको छैन ।

अर्को पहाडी जिल्ला बझाङमा पनि हरेक वर्ष यार्साका बेला करिब तीनदेखि पाँच क्विन्टलसम्म यार्सा संकलन हुने गरेको छ । यस वर्ष हालसम्म तीन क्विन्टल ६७ किलोग्राम यार्सा हिमाली भेगबाट संकलनका लागि व्यापारीले अनुमति मागेको जिल्ला वन कार्यालय बझाङले जनाएको छ । “२१ जना यार्सा व्यापारीले संकलनका लागि अनुमति मागेर स्थानीयवासीमा किनमेलका लागि गएका छन् ।” जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्णबहादुर खातीले रासससँग भन्नुभयो, “यो वर्ष अझैसम्म निकासी अनुमतिका लागि कोही पनि आएको छैन ।” उहाँले यार्सा संकलनको अनुमति समय सकिएपछि निकासीका लागि व्यापारीले राजश्व बुझाउने गरेको बताउनुभयो ।

उहाँले गत वैशाखदेखि असारसम्म बझाङको हिमाली भेग काँडा, धमेना, सुनिकोट, दवाचौउर, दहबगर र सुर्मा क्षेत्रमा यार्सा संकलन गरिएकोे बताउनुभयो । यार्सा संकलन हुने बझाङ र दार्चुलामा यार्सा निकासीबापत अघिल्लो आवमा व्यापारीले रु एक करोड १९ हजार राजश्व बुझाएका थिए । स्थानीयवासीबाट व्यापारीले यार्सा खरिद गरेर प्रतिकिलो रु १४ देखि १८ लाखसम्म बिक्री गर्ने गरेका छन् ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ००:००