३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

जिसस दोलखाको प्रमुखमा पाण्डे उम्मेदवार



दोलखा, १९ साउन । जिल्ला समन्वय समिति, दोलखाको प्रमुखमा नेकपा (एमाले) ले पार्टी उपसचिव डवल पाण्डेलाई उम्मेदवार बनाउने भएको छ ।

उहाँको विजय हुने निश्चित देखिन्छ । १८ मतदाता रहेको दोलखामा १४ मत एमालेको मात्रै भएका कारण नौ सदस्यीय जिल्ला समन्वय समिति एमालेको हुने निश्चित छ ।

नेकपा (एमाले)ले पार्टी संगठनका लागि आप्mनो ज्यान जोखिममा राखेर काम गर्ने व्यक्तिलाई प्रमुख पदमा उम्मेदवार बनाउने न्यायिक निर्णय गरेको एमाले नेता शिवप्रसाद भण्डारीले बताउनुभयो ।

यही साउन २४ गते हुने समन्वय समितिको निर्वाचनमा एमालेका तर्फबाट पाण्डेलाई प्रमुख र उपप्रमुखमा मनमाया जिरेललाई उम्मेदवार बनाउन निर्णय भएको एमालेका केन्द्रीय सदस्य एवं क्षेत्र नं १ का संसद् पार्वत गुरुङले बताउनुभयो ।

उम्मेदवार छनोट तथा सिफारिश समितिका संयोजकसमेत रहनुभएका गुरुङले प्रमुख, उपप्रमुखको नाम सिफारिश भई स्थायी समितिबाट समेत अनुमोदन भइसकेको जानकारी दिनुभयो ।

“तत्कालीन युद्धरत पक्ष नेकपा (माओवादी)ले एमाले नछोडे सफाया गर्ने पटकपटक धम्की र अपहरण गर्दा पनि पाण्डेले निरन्तर पार्टीको काम गर्न छाड्नुभएन, त्यसैले उहाँको यतिखेर आएर सम्मान भएको छ,” एमाले नेता धनबहादुर तामाङले दाबी गर्नुभयो ।

विसं २०४० मा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा बसेर विद्यार्थी राजनीति शुरु गरेका पाण्डे अनेरास्ववियूको जिल्ला सदस्य, एमाले गाउँ पार्टी कमिटीको सचिव, इलाका सचिव हुँदै २०४७ सालमा जिल्ला कमिटी सदस्य हुनुभएको थियो । २०५५ सालमा एमाले जिल्ला सचिवालय सदस्य भएका नेता पाण्डे नवौँ जिल्ला अधिवेशनबाट पार्टी उपसचिव हुनुभएको थियो । पेशाले किसान मनमाया भने २०४८ सालमा एमालेको संगठित सदस्य बन्नुभएको हो ।

४७ वर्षीया जिरेल एमालेको क्षेत्रीय कमिटी सदस्य र एमाले जिरी नगर कमिटीको स्थायी समिति सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ । जिरी नगरपालिका–६ बाट उहाँ महिला सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एमाले जिल्ला कमिटी, दोलखाले उम्मेदवार छनोटका लागि गठन गरेको सिफारिश समितिले प्रमुख र उपप्रमुखको नाम टुंग्याएर प्रदेश कार्यालयमा सिफारिश गरेको थियो । जिल्ला समन्वय समितिका सदस्यको नामसमेत टुंगो लागेको गुरुङले जानकारी दिनुभयो ।

समन्वय समितिको निर्वाचनमा नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् ।

प्रकाशित : १९ श्रावण २०७४, बिहिबार ००:००