काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोकिएका नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । भन्डै नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।
नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवद्र्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमाझैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानमा जुटेको छ, भारतका अन्य दुई गन्तव्यमा पनि विगतमाझैँ छिट्टै उडान हुने अपेक्षा गरिएको छ’, उनले भने ।
काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गरिएको हो ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानमा प्रतिबन्ध लगाएकामा हाल दुवै मुलुकले अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध ‘एयर ट्रान्सपोर्ट बबल’ मार्फत खुकुलो बनाएकाले निगमले काठमाडौँ–दिल्ली रुटमा हाललाई दैनिक नियमित एक उडान गर्न लागिएको जनाएको छ ।
प्रतिक्रिया