काठमाडौं २९, असार । लेस्टर सिटीलाई ४–१ गोल अन्तरले बर्नमाउथले पराजित गरेको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा अंक तालिकाको चौंथो स्थानमा रहेको सिटीले बर्नमाउथसँग पराजय बेहोरेसँगै चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।
खेलमा अग्रता पनि लेस्टरले लिएको थियो। उसका लागि जिमी भर्डीले २३ औं मिनेटमा बर्नमाउथविरुद्ध गोल गरेका थिए।
त्यसपछि ६७ औं मिनेटमा लेस्टरका सोयुन्कुले रातो कार्ड पाएपछि लेस्टर १० खेलाडीमा सीमित भयो। त्यसपछि प्राप्त पेनाल्टीमा बर्नमाउथका स्टानिस्लासले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
लगत्तै सोलाङ्केले टिमलाई २–१ को अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा लेस्टरका इभान्सले आत्मघाती गोल गरे। फेरि, ८७ औं मिनेटमा सोलाङ्केले गोल गर्दै टिमलाई ४–१ को जित दिलाए।
लिगमा ३५ खेल खेलेको लेस्टरको ५९ अंकसहित चौथौ स्थानमा छ। चेल्सीको समान खेलबाट ६० अंक छ। ३४ खेल खेलेको म्यानचेस्टर युनाइटेड ५८ अंकसहित पाँचौ स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा टोटनह्यामले आर्सनललाई २–१ गोलले पराजित गर्याे।
प्रतिक्रिया