२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

समाचार

किरात प्रदेश नामाकरणका लागि यायोक्खाले थाल्यो प्रशिक्षण




काठमाण्डौ २ कार्तिक । किरात राई यायोक्खाले सांगठानिक सुदृडिकरण र क्षमता अभिवृद्धिका लागि प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षणको पहिलो चरण अन्तर्गत किराया केन्द्रिय संगठन विभागको आयोजना तथा काठमाण्डौ जिकासको व्यवस्थापनमा शनिबार काठमाण्डौ जिल्लास्तरिय प्रशिक्षण सम्पन्न भएको छ ।


यायोक्खाले संगठनको संरचना, संगठनको उद्देश्य, व्यवस्थापन, राजनैतिक उद्देश्य र भावी अभियानको बारेमा देशव्यापी प्रशिक्षण तथा अन्तरक्रिया अभियान सुरु गरेको यायोक्खाको उपमहासचिव तथा संगठन विभाग प्रमुख भीम राईले बताए । उनले भने ‘हामीले संगठानिक व्यवस्थापन, सृदृडिकरणका साथै प्रदेश नं. १ को भावी हिउँदे अधिवेशनलाई लक्षित गरि प्रशिक्षण सुरु गरेका हौं।’ गाउँगाउँसम्म प्रशिक्षण अभियान सञ्चालन गरि प्रदेश नं. १ लाई किरात प्रदेश नामाकरणका लागि माहोल सिर्जना गर्ने उनले बताए ।


प्रशिक्षणलाई यायोक्खाले दुई चरणमा सम्पन्न गर्ने योजना बनाएको छ । पहिलो चरणमा उपत्यका समेटिने छ भने दोस्रो चरणमा प्रदेश नम्बर १ का सबै जिल्ला र स्थानीय तहहरु समेटिने छ । यसका लागि यायोक्खाले समय तालिका नै तय गरेको छ । समय तालिका अनुसार कार्तिक महिना भर उपत्यका र मंसिर महिनामा प्रदेश नं. १ मा प्रशिक्षण सम्पन्न हुनेछ ।


यायोक्खाले भाषा, धर्म, संस्कृति संरक्षण, खोज अनुसन्धानका साथै पच्छिलो दिनहरुमा प्रदेश नं. १ लाई किरात प्रदेश नामाकरण गरिनु पर्ने अभियानलाई शसक्त रुपमा उठाउँदै आएको छ ।


पुषमा हुने प्रदेशसभाको हिउँदे अधिवेशनमा प्रदेश नामाकरणको मुद्दा मुल रुपमा उठान हुने भएकाले किरात प्रदेशका लागि यायोक्खाले विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था र शुभेच्छुकहरुसंग गहन छलफल सुरु गरेको यायोक्खा महासचिव जनक राईले बताए । उनले संस्थाको उद्देश्य, माग, मुद्दा र अभियानका बारेमा सबैलाई सकारात्मक बनाउन यस्ता प्रशिक्षणले अहम भूमिका निर्वाह गर्ने भएकाले अभियानकै रुपमा अघि बढाइएको बताए ।


शनिबार सम्पन्न प्रशिक्षणमा ‘संगठनको संरचना र किरात प्रदेश अभियानको कार्ययोजना’ विषयमा उपमहासचिव भीम राईले प्रशिक्षण दिए । ‘आर्थिक योजना’ सम्बन्धी सहकोषाध्यक्ष पर्शुराम राई, ‘संस्कार संस्कृती र धर्म’ शीर्षकमा किरात प्रज्ञापरिषदका कुलपति जयकुमार राईले प्रशिक्षण दिएका थिए ।
त्यस्तै ‘भाषा, लिपी’ विषयमा डा. तारामणी राई, (मुन्दुम) मा भोगिराज चाम्लिङ, ‘१ नम्बर प्रदेश किरात प्रदेश अभियान’ विषयमा किरायाका पूर्व उपाध्यक्ष दुर्गा राईले प्रशिक्षण दिएका थिए ।


प्रशिक्षणमा किराया काठमाण्डौ समिति र काठमाण्डौ अन्तर्गत रहेका प्रा.क.स. बाट सय बढी सहभागिता थिए ।

प्रकाशित : २ कार्तिक २०७६, शनिबार ००:००