२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

ग्लोबल

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि मतदान जारी




काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ । नयाँ नेतृत्व निर्वाचित गर्न मतदान जारी रहेको आईसीसी सदस्य अमित चाम्लिङले जानकारी दिए ।

मध्याहन्न चार बजे मतदान सम्पन्न हुने आयोजकले जनाए पनि अहिलेसम्म ६० प्रतिशत मात्र मत खसेको छ । मतदाताहरु लाइनमा बसेर मतदान गरिरहेका छन् । मतदानको रम्तारालाई हेर्दा अझै दुई तीन घण्टा लाग्ने राईले बताए ।शुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिए तापनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको प्रवक्ता भुषण घिमिरेले जानकारी दिए ।

“बुधबार राति ९ बजेदेखि विद्युतीय मेसिनबाट मतदान हुने भनिएको थियो”, उनले भने, “तर विद्युतीय मेसिनमा दुवै पक्षको सहमती नजुटेपछि पुनः मतपत्र छापी आज मतदान शुरु गरिएको हो ।”

निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहनुभएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कूल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्सीय कार्यसमिति चयन गर्नेछ ।

निर्वाचनमा करीब दुई हजार ५ सय मतदाता रहेका छन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका समापन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली सहभागी छन् ।

प्रकाशित : ३० आश्विन २०७६, बिहिबार ००:००