![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/Hero_Article_EnUK_Red-Eye-Photo.jpg?resize=677%2C445)
कर्णाली प्रदेशमा झण्डै १५ हजारभन्दा बढि संख्यामा न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा करिब १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान गरिएको हो ।
अस्पतालका अनुसार करीब नौ हजार नागरिकमा मोतियाविन्दुको समस्या रहेको तथ्यांक रहेको छ। त्यसमध्ये तीन हजार ४ सय नागरिकसम्म मात्र उपचारको पहुँच पुगेको अस्पतालका प्रबन्धक घनबहादुर थापाले बताए । “कर्णालीका कतिपय जिल्लामा स्तरीय आँखा उपचार केन्द्र छैनन्, दूरदराजमा अझै आँखाको समस्यालाई स्वास्थ्य समस्या मान्ने गरिएको छैन्”, थापाले भने, “आँखा संवेदनशील अङ्ग भए पनि भौगोलिक विकटता, साक्षरताको कमी र गरीबीका कारण थुपै्र न्यून दृष्टियुक्त व्यक्तिहरु अस्पतालसम्म आउन सक्दैनन् ।”
कर्णाली प्रदेशको एक मात्र सुविधासम्पन्न आँखा अस्पताल भएकाले यहाँ दिनहुँ बिरामीको भीड लाग्ने गर्दछ । प्रबन्धक थापाले प्रदेशका ६० हजार नागरिकलाई वर्षेनी आँखासम्बन्धी समस्याको निदानका साथै परामर्श दिने गरेको जानकारी दिएको बताए । आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एकपटक विशेषज्ञद्वारा आँखा जाँच गराउन जरुरी रहेको उनको भनाइ छ । अस्पतालले हालसम्म झण्डै एक हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गरिदिएको छ ।
प्रतिक्रिया