काठमाण्डौ ११ असोज । किरात शासनकालका प्रथम राजा यलम्बरको विश्वकै अग्लो प्रतिमा खोटाङमा बन्ने भएको छ । सय फिट अग्लो पूर्णकदको प्रतिमा रुपाकोट मझुवागढी¬ १४ बुइपामा बन्न लागेको हो ।
प्रतिमा निर्माणका लागि किरात राईहरुको साझा संस्था किरात राई यायोक्खाले निर्माण पक्षलाई शुक्रबार आधिकारीक फोटो हस्तान्तरण गरेका छन् ।
किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरमा हस्तान्तरण कार्यक्रम गरि मेयर दिपनारायण रिजाल, उपमेयर विनादेवी राई र वडाध्यक्ष दिनेस राईलाई यायोक्खाका अध्यक्ष दिवस राईले तस्विर हस्तान्तरण गरे ।
१४ करोड लागतमा मूर्ति निर्माण सम्पन्न हुनेछ । जसमा नगरपालिकाको ३० प्रतिशत र प्रदेश न १ सरकारको ७० प्रतिशत बजेट खर्च हुनेछ । आगामी तीन बर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । परियोजनाको डिपिआर लगायत सम्पूर्ण प्रक्रिया सकिएकाले दशैं लगतै टेन्डर गर्न लागिएको मेयर रिजालले बताए । उनले यस आर्थिक बर्षमा प्रदेश सरकारबाट २ करोड २५ लाख र नगरबाट ५० लाख गरि कुल २ करोड ७५ लाख बजेट विनियोजन भएको जानकारी दिए ।
३० रोपनी जग्गामा बन्न लागेको यलम्बर पार्कलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ योजनामा राख्नु आफैंमा महत्वपूर्ण रहेको उपमेयर राईले बताए । उनले भनिन् यो योजना सम्पन्न भएपछि यस क्षेत्रमा पर्यटकीय हिसाबले बेग्लै अर्थ राख्ने छ ।
वडा नम्बर १४ का अध्यक्ष दिनेस राईले सय फिट अग्लो मुर्ति निर्माण गर्नु आफैँमा महत्वपूर्ण भएपनि भूकम्प लगायत प्राकृतिक प्रकोपबाट जोगाउने चूनौती रहेकाले माटोको सोइल टेस्ट गरिएको र नतिजा समेत राम्रो आएको बताए । लामो समय टिकाउन उच्च गुणस्तरका धातु प्रयोग गरिने समेत उनले जानकारी गराए ।
नेकपाका नेता तथा प्रतिनिधिसभा खोटाङका सांसद बिशाल भट्टराईले देशकै गौरवपूर्ण योजना खोटाङमा सम्पन्न हुन लागेकोमा आफु निक्कै उत्साहित रहेको बताए । उनले भने योजनाहरु समयमा सम्पन्न नहुने र गुणस्तरहिन हुने राष्ट्रिय रोग भएकोले यो गौरवको योजना सम्पन्न गर्न सबैले आ आफ्नो ठाउँबाट सकारात्मक सल्लाह सुझाव र ध्यान दिनुपर्छ । सांसद भटराईले यो योजना जिल्ला वा प्रदेशको मात्र नभइ समग्र राष्ट्रकै गौरवको योजना भएकाले हलेसी, तुवाचुङ हुँदै निर्माण हुन लागेको यलम्बर पार्कसम्म सहज कनेक्टिभीटी स्थापित गरिने जानकारी दिए ।
तस्विर हस्तान्तरण गर्दै यायोक्खा अध्यक्ष दिवस राईले यलम्बरको मुर्ती निर्माणमा एकरुपता ल्याउन सरोकारवाला समुदायमा परिपत्र गरिसकिएको जानकारी गराए । बुइपामा बन्न लागेको यो मुर्ती निर्माण अभियान नेपालको मात्र नभइ विश्वकै मानव समुदायको चासोको विषय भएको अध्यक्ष राईले बताए । उनले जस्तोसुकै सहकार्य गर्न यायोक्खा तयार रहेको प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा यायोक्खाका उपाध्यक्षहरु जीवन हाताचो राई, गेन राई, टिकासरी राई, महासचिव जनक राई, उपमहासचिव भिमराज राई लगायतको उपस्थिति रहेका थिए ।
प्रतिक्रिया