२२ कार्तिक २०८१, बिहिबार । November 7, 2024

समाचार

दसैका लागि च्याङ्ग्रा पोखरा ल्याइदै,बिक्री नहुँदा सस्तोमा बेच्न बाध्य




पोखरा । नेपालीका घरघरमा दसै भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम स्ुरु भएको छ ।

व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपु¥याउँछन् । पोखरा र आसपासमा दसैको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ । अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दसैमा भने च्याङ्ग्राकै मासु खाने भन्ने प्रचलनले पनि यसको माग बढ्दै गएको हो ।

दशैँ आउनुअगाबै च्याङ्ग्रा किन्नकै लागि झण्डै एक महीना अघि व्यापारी मुस्ताङ पुगिसक्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा चर्ने भएकाले पोखरा सुरक्षित तवरबाट ल्याउन झण्डै १५÷२० दिन हिँडाएर च्याङ्ग्रा ल्याउनुपर्ने बाध्यता छ । “माथिबाटै ट्रकमा ल्याउँदा च्याङग्रा मर्ने सम्भावना अत्याधिक हुन्छ,” च्याङग्रा व्यापारी रामचन्द्र नेपालीले भने, “ठाउँ ठाउँमा चराउँदै ल्याउनुपर्ने भएकाले पोखरा ल्याई पु¥याउन धेरै दिन लाग्ने गरेको छ ।

विगत केही वर्षयता लगातार मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका नेपालीले यस वर्ष त्यहाँको चराङस्थित डि गाउँबाट १९१ वटा च्याङ्ग्रा ल्याएको छ । मुस्ताङमा नै च्याङ्ग्राको खरीद मूल्य रु २५÷२६ हजार पर्ने गरेका कारण यस वर्ष पोखरामा बिक्री मूल्य रु ३५÷३६ हजारसम्म पर्ने उहाँले जानकारी दिए ।

झण्डै एक महीना अघिदेखि नै मुस्ताङमा च्याङ्ग्राको किनबेच सुरु भएको बारागुङमुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दीपक रेग्मीले जानकारी दिए । उहाँका अनुसार गाउँपालिकाले त्यहाँबाट बिक्रीका लागि पोखरातर्फ झारिएकाप्रति च्याङ्ग्राको रु २० का दरले राजश्व लिएको छ ।

अन्य गाउँपालिकामा राजश्व तिरेर आएका व्यापारीका लागि भने गाउँपाँलिकाले थप राजश्व नलिएको उहाँले जानकारी दिए । हालसम्म मुस्ताङबाट झण्डै १८ हजारको सङ्ख्यामा च्याङ्ग्रा झरिसकेको हुनसक्ने जानकारी दिँदै उहाँले कतिपय झर्ने क्रममा रहेको बताए ।

च्याङ्ग्रा झार्दै गर्दा पोखराको हेमजामा यतिखेर च्याङ्ग्रा राख्ने खोर बनाउन पनि भ्यानभ्याइ छ । कतिपयले जग्गा भाडामा लिएर खोर बनाउने गरेका छन् । दशैँलाई लक्षित गरी च्याङ्ग्रा राख्नका लागि विगत केही वर्षयता खोर बनाउँदै आएका सिमपानी निवासी रमेश दवाडीले यस अवधिमा प्रतिखोर रु १५ हजार भाडा लिने गरेको जानकारी दिए ।

दसैका लागि पोखरा ल्याइएका च्याङ्ग्रा व्यापारीले सकेसम्म सप्तमी र अष्टमीमा सबै बेचेर फर्कने गरेका छन् । यस अवधिमा बेच्न नसके सस्तो मूल्यमा बेचेर फर्कनुपर्ने गरेको व्यापारीको तितो अनुभव छ । विगत केही वर्षयता बझाङको साइपाल गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका साइपाल गाउँपालिका–१ का उज्जन बोहोराले अहिले ११४ वटा च्याङ्ग्रा ल्याएको छ ।

अघिल्लो वर्ष ११२ च्याङ्ग्रा ल्याएको जानकारी दिँदै उहाँले दसैको अष्टमी, नवमीसम्म पनि सबै बिक्री नहुँदा रु आठ हजारसम्ममा बेचेर फर्कनुपरेको दुःखेसो सुनाए । यस वर्ष बझाङको साइपालबाट आफूले बिक्रीका लागि च्याङ्ग्रा ल्याएको उहाँले जानकारी दिए । पोखरापछि आसपासका जिल्लामा पनि च्याङ्ग्राको लोकप्रियता बढ्दै गएको छ ।

पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन् । पछिल्ला समयमा काठमाडौँमा च्याङ्ग्राको माग बढे पछि खाद्य संस्थानमार्फत पु¥याउन थालिएको छ । 

प्रकाशित : ११ आश्विन २०७६, शनिबार ००:००