![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/chandra-1024x702.jpg?resize=672%2C460)
काठमाडौं, १५ भदौ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हाँसिल गरेको बताएका छन् । राजधानीमा शनिबार आयाजित कार्यक्रममा उनले भने,‘अहिले दुई तिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो ।’
समाजलाई भड्काउनको लागि होली–वाइन प्रकरण भएको बताउँदै पूर्वसांसदसमेत रहेका भण्डारीले सरकारको आलोचना गरे । उनले भने, ‘बुद्धको मुर्ती तोडफोडको घट्ना भयो । नेपालमा के हुँदैछ ? होली वाइन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाइयो । अहिले तीन, चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरे पनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो ।’
अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भइरहेको भण्डारीको भनाइ छ । उनले भने, ‘हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं । ९, १० खर्बको राजश्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ ।’
विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञी बन्न थालेको पनि उनको आरोप छ । उनले भने, ‘हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ । नेताहरुलाई खोकी लाग्यो भने उपचारको लागि विदेश जानुपर्छ ।’ आफूहरुले प्रणालीलाई चलाउन नजानेको उनको टिप्पणी छ ।
प्रतिक्रिया