![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/Tharu-Maghi-festival.jpg?resize=670%2C447)
बाँके, ११ भदौ । पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन ।
योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै छ । छाउगोठमा सुतेका बेला बलात्कृत हुनु, सर्पले डस्नुजस्ता घटना भइरहेका छन् । खासगरी महीनावारी भएका महिलालाई भान्साकोठामा जान नदिने, खाना बनाउन नदिने, देवीदवताको पुजापाठ गर्नु हुँदैन भन्ने गलत मान्यताका कारण उनीहरुलाई घरभन्दा अलग गोठ ९छाउगोठ० बनाएर बस्न बाध्य पारिन्छ ।
महीनावारी भएका महिलाले छुँदा, सँगै बसेर खाँदा वा बस्दा देउता रिसाउने, अनिष्ट हुनेजस्ता आरोप लगाइन्छ । तर, थारू समुदायका महिलाले महीनावारी बार्दैनन् । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा यो छाउप्रथा चल्दैन । थारू समुदायका महिलाले अहिलेसम्म महीनावारी बार्ने गरेका छैनन् । महिनावारी हुँदा नुहाइधुवाइ गर्छन्, खाना पकाउँछन्, पाहुना तथा घरका अन्य सदस्यलाई खुवाउँछन् र आफू पनि खान्छन् ।
उनीहरुलाई घरको कुनै कोठामा जान रोकटोक हुँदैन । थारू महिलालाई महीनावारी भएको बेला आफू हेपिएको र दुव्र्यवहार भएको अहिलेसम्म थाहा छैन । महीनावारी हुँदा र नहुँदा पनि परिवारको व्यवहार समान हुन्छ । त्यसैले पनि थारू महिला आफू हेपिएको वा फरक व्यवहार भएको ठान्दैनन् । बाँकेको बैजनाथ गाउँपालिका–१ की अस्मिता चौधरी भन्छिन् । “हामीलाई महीनावारीसँगै कुनै मतलव हुँदैन, महीनावारी हुँदा सरसफाइमा ध्यान दिन्छौँ, हामीलाई परिवारबाट पनि कुनै प्रकारको रोकटोक हुँदैन ।”
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/download-3.jpg?resize=658%2C438)
उनका अनुसार छुवाछूत नमान्ने भएकाले महीनावारी भएका बेला पनि थारू महिला नुहाइधुवाइ, सफासुग्घर भएर पुजा गर्ने ठाउँमा पनि जान्छन् । महीनावारी भएका बेलासमेत परिवारका सदस्यले समान व्यवहार गर्ने भएकाले अन्य दिनभन्दा कुनै फरक नपाएको बैजनाथ गाउँपालिका–१ कै जयन्ती चौधरीको भनाइ छ ।
“अन्य समुदायजस्तो थारू समुदायमा महीनावारी बार्नुपर्दैन, महीनावारी बार्ने क्रममा जघन्य अपराध र मृत्युका घटनाले मलाई झस्काउँछ”, उनी भन्छिन्, “अन्य समुदायले पनि महीनावारी बार्नु हुँदैन ।” महीनावारी भएदेखि एक दिन पनि बार्न नपरेको स्मरण गर्दै उहाँले थारू समुदायले महीनावारीलाई सामान्यरुपमा लिने गरेको बताए ।
थारू समुदाय प्रकृतिपुजक भएकाले महीनावारीलाई प्रकृतिको वरदानका रुपमा लिएर यसलाई सामान्यरुपमा लिएको उनको भनाइ छ । मानवअधिकारकर्मी सुशील चौधरीले थारू समुदायमा महीनावारी बार्ने चलन पहिलेदेखि नै नभएको बताए । हाल आएर अन्य समुदायको सिको गर्दै यदाकदारुपमा बार्ने चलन शुरु भएको भन्ने सुनिन थालेको उनले भनाइ छ ।
उनले भने, “अहिले अन्य समुदायको सिको गर्न थालिएको छ, आमरुपमा थारू समुदायमा महीनावारी बार्ने चलन नै छैन, गलत परम्पराको सिको गर्नुहुँदैन ।” अधिकारकर्मी चौधरीका अनुसार परिवारमा आमा÷सासु वा महिला अभिभावकलाई मात्रै छोरी÷बुहारीको महीनावारी हुने समयबारे जानकारी राख्ने गर्छन् । “थारू समुदाय महिलाप्रधान भएकाले पनि त्यसो भएको हुनसक्छ”, उनले भने ।
महीनावारीको समयमा घरमुली महिलालाई मात्रै जानकारी हुन्छ र महीनावारी भएका महिलाको पोषणमा ख्याल गर्ने तथा उनीहरुलाई गह्रुँगो भारी बोक्न दिइँदैन । यो समुदायमा जातीय छुवाछूत पनि भेटिँदैन । यो समुदायमा तल्लो, उपल्लो, दलितजस्ता वर्ग छैनन् । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा ल्याएको मुलुकी ऐन १९१० मा मासिन्या ९मतवाली० अर्थात् छोइछिटो लाउनु नपर्ने व्यस्वस्था गरिएको थियो ।
त्यसैको प्रभाव पनि हुनसक्छ, थारू समुदायभित्र छुवाछूत प्रथा छैन । थारू समुदायमा विवाह गर्दा पनि जात हेरिँदैन । जसले जुन जातसँग बिहे गरे पनि स्वीकारयोग्य हुन्छ । कसले कुन जातको केटा वा केटीसँग विवाह गर्ने भन्ने नै हुँदैन । अधिकारकर्मी चौधरीले भने, “अन्य समुदायभित्रको विवाहलाई पनि थारू समुदायले सहजै स्वीकार गर्ने गर्छ । विवाहमा जातको कुनै मतलव नै हुँदैन ।”
प्रतिक्रिया