![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/01/United-Nations-flag-logo.png?resize=720%2C457)
संयुक्त राष्ट्रसंघ, ५ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाउनुभएको छ । गत सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गर्नुभएको वक्तव्यमा महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको उल्लेख छ । प्रवक्ता डुजारिकले सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गर्नुभएको छ । बुर्किना फासोको उत्तरी प्रान्त सउममा रहेको काउटाउ सैनिक शिविरमा गत सोमबार आक्रमण गरिएको थियो । सरकारी विवरणमा यस वर्षको यो सबैभन्दा घातक आक्रमण रहेको उल्लेख छ ।
प्रतिक्रिया