२६ माघ २०८१, शनिबार । February 8, 2025

मुख्य खबर

लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य : प्रधानमन्त्री




प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित हुँदै गएको लोकतन्त्रलाई खलबल पु¥याउन खोज्ने केही पुराना प्रतिगामी शक्तिलाई ठेगान लगाउन लोकतन्त्रवादीको एकता अपरिहार्य बताएका हुन् । 
प्रधानमन्त्री ओलीले जनताको सर्वोच्चतालाई सुरक्षित राख्न वर्तमान सरकार अपराध नियन्त्रण गर्न र भ्रष्टाचारी तथा राजस्व छलछाम गर्ने व्यक्तिलाई कठोर कदमबाट ठेगान लगाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। एक साताभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन हुने उल्लेख गर्दै ओलीले बाढी पहिरोपीडित परिवारका लागि ८६९ घर निर्माण गरी समाजमा उनीहरुलाई पुनःस्थापित गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । 

प्रधानमन्त्री ओलीले समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा बनेको संविधानको उपयुक्त कार्यान्वयन गरी जनतालाई सुखी राख्न संसद्मा गतिरोध अफाप सिद्ध हुने  भनाई राखेका थिए ।  सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउने र गैरकानूनीरूपले ओगटिएका त्यस प्रकारका जग्गालाई सरकारकै स्वामित्वमा ल्याउने काम अघि बढेको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले कानून निर्माणका काम तीव्र रुपमा  अघि बढिरहेको, सरकार शान्ति सुरक्षामा सरकार प्रतिबद्ध रहेको, आर्थिक वृद्धिदर सात प्रतिशत रहेको, राष्ट्रिय गौरवका आयोजना निर्माण तीव्र गतिमा अघि बढेको र  मन्त्रालय मातहतबाट सञ्चालन भएका सम्पूर्ण विकास निर्माण तोकिएकै समयमा सपन्न गर्न सम्बन्धित मन्त्रीसँग लिखित प्रतिबद्धता भएको सदनलाई जानकारी दिएका छन् । 

प्रकाशित : १ भाद्र २०७६, आइतबार ००:००