२६ माघ २०८१, शनिबार । February 8, 2025

मुख्य खबर

नेपाल र भारतबीच कार्यान्वयन हुन नसकेका सम्झौता खारेज गरिनु पर्छ : परराष्ट्रमन्त्री ज्ञवाली




काठमाडौं, १ भदौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताएका हुन् ।
‘दशकौं हुँदा पनि केही सम्झौता कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन्,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं ।’ पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उदारभाव देखाउनुपर्ने बताए । नेपाल विश्व महाशक्ति या क्षेत्रीय शक्ति पनि नभएको र बन्ने महत्वाकांक्षा पनि नराखेको बताउँदै भने,‘हामी समृद्धिको उद्देश्य बोकेर अगाडि बढ्न चाहन्छौं, त्यसका लागि भारतले उदारताका साथ साथ देओस् ।’ भारतबाट लगानीको अपेक्षा गरिएको र त्यसले भारतको पनि हित गर्ने बताए । नेपाल र भारतबीच व्यापार घाटा बढिरहँदा नेपाललाई ठूलो नोक्शानी परिरहँदा भारतबाट नेपालमा उद्दोग संचालनमा लगानी हुन सके घाटाको समस्या समाधान हुने बताए । उनले भने,‘दुवै देशलाई लाभ हुनेगरी विन विनको अवस्थामा जानुपर्छ ।’
नेपाल भारतबीच संस्कृति जनताले जर्गेना गर्दै आएको उल्लेख गर्दै अबका दिनमा आर्थिक सम्बन्ध मजबुत र साझेदारसहितको हुनुपर्नेमा जोड दिए । नेपालमात्र भारतसँग निर्भर नभएर भारत पनि नेपालसँग निर्भर रहेको बताउँदै एक अर्काबीचको निर्भरतालाई मनन् गरेर आपसी हितमा अघि बढ्नुपर्ने बताए । त्यसका लागि आवश्यक परे विगतका सन्धी सम्झौता परिवर्तन या परिमार्जनको विकल्पमा जोड दिए ।
दुई देशबीच आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने गरी पूर्वाधार निर्माणले गति लिएको बताए । मोतिहारी अमलेखगञ्ज पाइपलाइन उद्घाटन हुनगइरहेको, हुलाकी राजमार्गको दुईवटा खण्ड उद्घाटन हुनलागेको र विराटनगर जोगवनी चेकप्वाइन्ट शुरु हुन गइरहेको, आन्तरिक जलमार्ग सुचारु गर्ने तयारी भइरहेको भन्दै आर्थिक सम्बन्ध मजबुत बनाउने दिशातर्फ द्विपक्षीय सम्बन्ध बढेको बताए ।

प्रकाशित : १ भाद्र २०७६, आइतबार ००:००