फलेवास (पर्वत), १४ भदौ । कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन् । घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन् ।
उनी भदौ २ गतेदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरायसी समस्या देखाउँदै बेपत्ता भएकी उनले हिसाब किताब मिलेपछि आफू घर फर्कने नोट लेखेर बेपत्ता भएको परिवार स्रोतले जनाएको छ ।
आर्थिक कारोबार मिलेकाले छिट्टै घर फर्कन परिवार सदस्यले सामाजिक सञ्जालमार्फत आह्वानसमेत गरिरहेका छन् । परिवार र प्रहरीले गिरीको खोजी गरिरहे पनि हालसम्म पनि उनको पत्ता लाग्न नसकेको बताइएको छ ।
लेनदेनको आर्थिक समस्याका कारण उनी बेपत्ता भएको हुनसक्ने भन्दै प्रहरीले सबै समस्या समाधान भएकाले गिरी छिट्टै घर फर्कने अनुमान गरेको छ ।
गिरीको पत्ता लगाउनेलाई परिवारले उचित पुरस्कारसहित सम्मान गर्नेगरी खोजी कार्य अगाडि बढाइरहेको छ ।
प्रतिक्रिया