२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

दमकमा विश्व बैंकले रु पाँच अर्ब लगानी गर्ने



दमकको भौतिक तथा पूर्वाधार विकासका लागि रु पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत गरेर करिब रु पाँच अर्ब बराबरको लगानी गर्ने बताउनुभयो ।

उहाँले त्यसका लागि प्रारम्भिक चरणका तयारी तीव्रताका साथ सञ्चालनमा रहेको बताउनुभयो । “हामीले यतिका परियोजना ल्याउनका लागि आवश्यक सबै तयारी एकैसाथ थालेका छौँ” नगर प्रमुख ओलीले भन्नुभयो, – “अब दमकमा यस परियोजनाबाट यहाँको हरेक क्षेत्रमा विकासले फड्को मार्ने छ ।”

उहाँले परियोजना सञ्चालन गर्नका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सुझावसहित अन्तरक्रिया सञ्चालनमा रहेको समेत जानकारी दिनुभयो । आयोजनाको प्राविधिक पक्ष सिमेका–विम–होमल्याण्ड जेभी कन्सल्ट्याण्टले सहजीकरण गरी आएको नगरपालिकाले जनाएको छ । नगरपालिका र प्राविधिक संस्थाले महिना दिनदेखि परियोजनाका बारेमा छलफल सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाका अनुसार दमकका सबै वडाबाट योजना छनोट गरेर तीमध्ये महत्वपूर्ण तीनवटा योजनाको भने डिपिआर नै तयार हुनेछ । योजना छनोटमा दमकमा शिक्षा, स्वास्थ्य, नदी नियन्त्रणलगायतका विषय समावेश हुनेछन् ।

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले लगानी गर्ने पूर्वका प्रमुख चारवटा नगरपालिकाको अध्ययन गरी योजना छनोट गरिने अध्ययन टोलीका प्रमुख अजयचन्द्र लालले जानकारी दिनुभयो ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार ००:००