दाङ, ११ भदौ । समान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले भदौ २० गतेभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिसक्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब दाङले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री बस्नेतले २० वर्षपछि स्थानीय तहको चुनाव भई जनप्रतिनिधि निर्वाचित भए पनि कर्मचारी व्यवस्थापन हुन नसक्दा जनताले सेवा पाउन नसकेका बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिंहदरबारको सेवा गाउँमै भनेका थियौँ, केही समयमा त्यो सेवा जनतालाई दिन सरकार लागेको छ ।” मन्त्री बस्नेतले पहिलो चरणमा हाल भएका कर्मचारीलाई व्यवस्थापन गरी सबै स्थानमा पठाउने र बाँकी कर्मचारीको व्यवस्था गरी पुनः व्यवस्थापनमा लाग्ने बताउनुभयो ।
उहाँले एकात्मक राज्य प्रणालीमा चलेको कर्मचारी संयन्त्र अहिले संघीय संरचनामा जाँदा व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो । तोकेको र खटाएको स्थानमा कर्मचारी नगए कडा कदम चाल्ने उहाँको भनाइ थियो । “जनताको सेवक भएपछि तोकेको स्थानमा जानुपर्छ, होइन भने बिदाइ भएर जानुको विकल्प छैन”, उहाँले भन्नुभयो ।
मन्त्री बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्बन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको बताउनुभयो ।
प्रतिक्रिया