३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

गाउँमै स्वरोजगार



बाबियाचौर (म्याग्दी), ८ भदौ । विदेश जाने योजना त्यागेर कृषि फार्म खोलेका म्याग्दीका कृषक गाउँमै स्वरोजगार बनेका छन् ।

मंगला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेल भैँसीपालन र तरकारी खेतीबाट गाउँमै स्वरोजगार बन्नुभएको हो । अफगानिस्तान जाने योजना त्यागेर उहाँले चार वर्षअघि गाउँमै तरकारी खेती र भैँसीपालन शुरु गर्नुभएको हो ।

पौडेलले सञ्चालन गरेको फार्ममा अहिले दुईजनाले रोजगारी पाएका छन् । चारवटा उन्नत जातको भैँसी पालेका पौडेलले चार रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएको छ । उहाँले दूध र दही बाबियाचौर बजारमा बिक्री गर्दै आउनुभएको छ । बन्दागोभी, काउली, घिरौला, भण्टा, खुर्सानी, करेला, लौका, सिमी, गोलभेँडा, सागलगायत मौसमी र बेमौसमी तरकारी बाबियाचौर र दरवाङ बजारमा बिक्री गर्नुहुन्छ ।

पौडेलले तीनवटा प्लास्टिक टनेलभित्र तरकारी खेती गर्नुभएको छ । तरकारी र दूध, दही बेचेर मासिक रु ५० हजार आम्दानी हुने पौडेलले बताउनुभयो । विदेश जान गर्ने लगानी र त्यहाँ गर्ने परिश्रम आफ्नै गाउँघरमा गरे मासिक रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी गर्न सकिने उहाँको भनाइ छ । पौडेललाई जिल्ला कृषि विकास कार्यालयले एकीकृत जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत रु ६० हजार तथा जिल्ला पशु सेवा कार्यालयले गोठ सुधारका लागि रु दश हजार अनुदान सहयोग समेत गरेको छ ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००