वालिङ (स्याङ्जा), ८ भदौ । चापाकोट नगरपालिका–६ साँखरमा स्थानीयवासीले सामूहिकरुपमा केराखेती गर्दै आएका छन् ।
केलादीघाट कृषक समूह र राधाकृष्ण कृषि समूहमा आबद्ध कृषकले झण्डै २२ रोपनी जग्गामा दुई हजारभन्दा बढी केराका बोट लगाएका छन् । एघार रोपनी जग्गा भाडामा समेत लिई केराखेती गर्दै आएको राधाकृष्ण कृषि समूहका अध्यक्ष ज्ञानेश्वर बस्ताकोटीले बताउनुभयो ।
सामूहिकरुपमा काम गर्दा सजिलो हुने र खेताला नपाउने समस्या हट्ने केलादीघाट कृषि समूहका अध्यक्ष कृष्णप्रसाद पोख्रेल बताउनुहुन्छ । “समूहमा आबद्ध सबै किसान काम गर्न जानुपर्छ, नगए खेताला खोजेर पठाउनु पर्ने नियम बनाएका छौँ,” उहाँले भन्नुभयो ।
चार वर्षअघि शुरु गरिएको सामूहिक केराखेतीप्रति यहाँका किसान आकर्षित हुँदै गएका छन् । उत्पादित केरा स्थानीय चापाकोट नगरपालिका तथा पाल्पाको रामपुर नगरपालिकाका विभिन्न बजारमा बिक्री हुने गरेको छ । यहाँ झापाली मालभोग केराखेती गरिएको छ । सो समूहले केराखेतीका साथै माछापालन र तरकारी खेती समेत गर्दै आएको छ । रासस
प्रतिक्रिया