३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

मोटरसाइकलले ठक्करबाट एक बटुवाको मृत्यु



काठमाडौँ, ८ भदौ । पुरानो बसपार्कअघि एक मोटरसाइकलको ठक्करबाट घाइते बनेका बटुवाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान ५ बजे बा८३प ५७८७ नंको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापा घाइते हुनुभएको थियो । वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुँदाहुँदै उहाँको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिकाका २८ वर्षीय योगेन्द्र तामाङको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्न थालेपछि खुला मञ्चमा बसपार्क सारिएपछि बसपार्क अव्यवस्थित बनेको यात्रुहरुको गुनासो छ । सारिएको बसपार्क कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै भत्किएर खाल्डाखुल्डी बनेको छ । वीर अस्पताल अघिको बसपार्कमा मोटरसाइकल, कारलगायत निजी सवारीसाधन पनि प्रवेश गर्न दिँदा दुर्घटना बढ्ने खतरा रहेको यात्रु बलराम महर्जनले बताउनुभयो ।

बसपार्कमा पेटी पनि नहुँदा बस कुरेर बस्ने यात्रुलाई पनि ठक्कर दिने सम्भावना बढेको छ । बसपार्कमा कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै खाल्डाखुल्डी परेकाले कसले पुनः निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिका राजश्व विभागका उपप्रमुख महेश काफ्लेले बताउनुभयो ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००