१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

वाग्मती सफाइ महाअभियानमा राहत संकलन



काठमाडौँ, ३ भदौ । वाग्मती सफाइ महाअभियानको २२३औँ हप्तामा तराईका बाढीपीडितका लागि राहत संकलन गर्ने उद्देश्यले आज विशेष नदी महोत्सव विशेष कार्यक्रम आयोजना गरियो ।

नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब, कुपण्डोलको आयोजना एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् र हिमालयन रिभर गाइड एशोसिएसनको सहयोगमा राहत संकलन कार्यक्रम गरिएको वाग्मती सफाइ महाअभियानले जनाएको छ ।

कार्यक्रममा २२० कार्टुन पानी, ३६ बाई ३६ का ७०० थान पाल, ५५ कार्टुन कपडा संकलन भएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिनुभयो । संकलन गरिएको राहत आजै बाढी प्रभावित जिल्ला सप्तरीमा पठाइएको छ । सप्तरीमा छजना चिकित्सकको समूह पनि पठाइएको छ ।

‘वाग्मती नदी महोत्सव’ नाम दिइएको राहत संकलनको अलग्गै कक्ष राखिएको थियो । गुह्येश्वरीमाथिको वाग्मती नदी सफाइ गर्दै आएको ‘राम्रो जोरपाटी, हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाजले कार्यक्रमस्थल कुपण्डोलमा राखेका छुट्टै कक्षमा तुलसी चिया बेचेर संकलन गरी बाढीपीडितका लागि पठाइने अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

कुपण्डोल क्षेत्रमा आज २२३औँ हप्ताको नदी सफाइ गरियो । आजै आयोजित महाजलयात्रामा २४ डुंगामा १९२ जनाले प्रतिव्यक्ति रु ५०० का दरले प्रदान गरेको रु ९६ हजार संकलन भएको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियनलगायत धर्म गुरुले वाग्मती नदीको महत्वका बारेमा प्रवचन गर्नुभयो । वाग्मतीमा विशेष कार्यक्रम भएकाले आज रुद्रमती, विष्णुमती सफाइ अभियानका अभियन्ता पनि यहाँ उपस्थित भएका थिए ।

चक्रपथ सफाइको १९औँ हप्तामा आज गोंगबु बिजी मल अगाडि सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

प्रकाशित : ३ भाद्र २०७४, शनिबार ००:००