१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

घर भत्किँदा तीनको मृत्यु



खजुरा (बाँके), २८ साउन । राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले राससलाई बताउनुभयो । मृतकको अझैसम्म नाम खुलेको छैन । उहाँका अनुसार सो गाउँपालिककाअन्तर्गत विभिन्न गाउँमा बाढी पसेकाले हालसम्मको विवरण आउन सकेको छैन ।

बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताउनुभयो । बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ ।
पीडितलाई हेलिकप्टरमार्फत उद्धार
लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।

यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ ।
यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताउनुभयो । राप्ती नदीको तह बढेर अहिले ८.५८ मि पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि सामान्य मानिन्छ ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००